
काठमाण्डु, ६ वैशाख – नेपाल टेलिकमले आउँदो दश महिनामा मुलुकभर फोरजी सेवा विस्तार गर्ने भएको छ । फोरजी सेवा विस्तारका लागि कम्पनीले टेण्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिकसकेको जनाएको छ ।
फोरजी एलटिइ (लङ टर्म इभोलुसन) सेवा एक वर्षभित्र सञ्चालनमा ल्याउनु कम्पनीको लागि चुनौतीको विषय रहेको प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिइन् । टेलिकमले कोर नेटवर्कको लागि चिनियाँ कम्पनी जेडटिइ कर्पोरेशनसँग सम्झौता भएको वैद्यले बताइन् ।
फोरजी एलटिइ सञ्चालनकको लागि दुईवटा नेटवर्क बनाइएको टेलिकमले जनाएको छ । फोरजी एलटिइ आयोजनामार्फत मुलुकभर ६५ लाख जनाको पहुँचमा सजिलै पुग्ने टेलिकमले जनाएको छ ।
हाल अधिकतम डाटा स्पिड ३२ एमबिपिएस रहेकोमा टेलिकमले नयाँ परियोजनामार्फत क्षमता विस्तार गरी एक सय ३० एमबिपिएसको स्पिड दिन सक्ने छ ।
फोरजी एलटिइ नयाँ सम्झौता अनुसार काठमाण्डु, पोखरा, नेपालगञ्ज र विराटनगरमा परिक्षण गर्ने योजना रहेको छ । फोरजीको नयाँ आयोजनामा ६० प्रतिशत लागत उपकरणमा रहेको छ भने ४० प्रतिशत लागत उपकरण ढुवानी र जडानमा रहेको छ ।