‘ड्रेस टु इम्प्रेस’को तयारी पुरा, आईआईएफटीका ६५ डिजाइनर भिड्दै

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – बागबजारस्थित इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रँदैछन् ।

६ महिनाभन्दा लामो कोर्ष गरेका डिजाइनरहरु ‘ड्रेस टु इम्प्रेस’ शीर्षकमा पहिलोपटक भिड्न लागेका हुन् । यही आउँदो १० बैशाखमा राजधानीमा हुने फाइनल प्रतिस्पर्धाका लागि यतिखेर विद्यार्थीहरु प्रतिस्पर्धाको तयारीमा जुटेका छन् ।

यसैक्रममा उनीहरुले बुधबार ‘प्रि–जजिङ’ राउन्डमा प्रतिस्पर्धा गरे । कार्यक्रममा प्रतिस्पर्धी डिजाइनरहरुले आफूले तयार गरेका क्रियटिभ पहिरनहरु प्रस्तुत गरेका थिए । जसका लागि निर्णायकमा चर्चित फेसन डिजाइनर मनिष राई, शैक्षिक निर्देशक राजु सुवाल, कोरियोग्राफर रोजिन शाक्य रहेका थिए । उनीहरुले विद्यार्थीहरुले तयार पारेका पहिरनको जजिङ गरेका थिए ।

स्मरणीय कुरा कार्यक्रममा डिजाइनरहरु नै आफूले तयार पारेका पहिरन पहिएर स्टेजमा प्रस्तुत हुने भएका छन् ।

फाइनल इभेन्टका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक तथा आईआईएफटीका निर्देशक तथा फुपू तेन्जिङ शेर्पाले बताए । उनका अनुसार कार्यक्रम १० बैशाखमा नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा साँझ हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us