संसदीय सुनुवाइमा रमाइलोः नेकपा सांसदले दिनेश थपलियाले दिनुपर्ने जवाफ दिएपछि…

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १८:०० मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– पूर्वसचिव दिनेशकुमार थपलियालाई संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत अनुमोदन गरेको छ ।
सिंहदरबारमा बसेको समिति बैठकमा त्यसअघि थपलियाविरुछ परेका उजुरीबारे सांसदले प्रश्न सोधेका थए । उनीविरुद्ध संघीय मामिला मन्त्रालयको सचिवका रुपमा कार्यरत रहेका बेला कर्मचारी समायोजनमा कयौंमाथि अन्याय गरेको र सत्तारुढ नेकपा निकट रहेको जस्ता उजुरी परेका थिए । सुनुवाईका क्रममा विपक्षी काँग्रेसका पुष्पा भुसाल र भिमसेनदास प्रधानले उनको नेकपासँगको विशेष सम्बन्धबारे प्रश्न सोधेका थिए । निर्वाचन आयोगजस्तो तटस्थ भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक आयोगको नेतृत्व कुनै अमुक दलसँग निकट सम्बन्ध रहेका व्यक्तिले गर्दा त्यसले सम्पादन गर्ने कामकारबाही निश्पक्ष नहुने आशंका उनीहरुको थियो । काँग्रेसबाट प्रदेश–३ का सांसद रहेका नरोत्तम वैद्यले थपलियाको राजनीतिक आस्था नेकपासँग रहेको भन्दै समितिमा उजुरी दिएका थिए । तर, काँग्रेस सांसदको जवाफ भने नेकपा सांसदहरुले दिएका थिए । थपलियाभन्दा पहिल्यै बोलेका नेकपा सांसदहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र पार्वत गुरुङले थपलियाले दिनुपर्ने जवाफ दिएका थिए ।

भट्टराईले शेरबहादुर देउवा नेविसंघको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका व्यक्ति प्रधानन्यायाधीश हुने हुने ३५ वर्ष सरकारी सेवामा निष्ठा र इमान्दारीपूर्वक बिताएका थपलिथा प्रमुख आयुक्त हुन किन नहुने भन्दै प्रतिप्रश्न गरे । यस्तै एमालेको ९ महिने अल्पमतको सरकार भएका बखत खुलेआम सरकारलाई चुनौती दिँदै हिंड्ने तत्कालिन सचिव भोजराज पोखरेल निर्वाचन आयुक्त भएको तथा काँग्रेसनिकट व्यक्ति लोकसेवा आयोगको अध्यक्ष भएकामा कसैले किन प्रश्न नउठाएको भन्दै आक्रोश पोखे । ‘शेरबहादुर देउवा नेविसंघको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका व्यक्ति प्रधानन्यायाधीश भए । प्रजातान्त्रिक विचार बोक्ने व्यक्ति लोकसेवा आयोगको अध्यक्ष हुँदा त्यहाँबाट लिइने परीक्षाबारे कसैले प्रश्न उठाउनु नपर्ने । भोजराज पोखरेल एमालेको नौ महिना सरकारका बेला खुलेआम सरकारविरोधी कुरा गर्दै हिंड्ने मान्छे निर्वाचन आयोगको प्रमुख भएको इतिहास छ’, भट्टराईले भने, ‘हिजो ती मानिसहरुलाई जम्मेवारी दिनेले आज दिनेश थपलियाजीका बारेमा प्रश्न उठाउँदा तिनले भोलि जिग्याउँछन् कि ?’ यस्तै पार्वत गुरुङले अहिल्यै प्रश्न उठाएर भविष्यमा चुनाव हारियो भने पहिल्यै प्रश्न उठाएका थियौं नि भन्नका लागि ठाउँ बनाएको भन्दै काँग्रेस सांसदप्रति कटाक्ष गरे ।

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा थपलियाले आफू कुनै दल विशेषको सदस्य नरहेको बताए । ‘मैले आईएसम्म क्याम्पस गएर पढेको हुँ । तयतिबेला कुनै विद्यार्थी संगठनमा समेत थिइन । ०४० सालमा जागिर खान थालेपछि क्याम्पस जानै पाइन । प्राइभेट पढें’, थपलियाले भने, ‘नरोत्तम वैद्यजीले मलाई कसरी अमुक पार्टीको सदस्य भन्नुभएको हो । मलाई त थाहा छैन । यदि रहेछु भने सदस्यता खोज्नुपर्ला ।’ सुनुवाईपछि थपलियाको नाम सर्वसम्मत अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । यस्तै समितिले बुधबारै समावेशी आयोगको सदस्यमा प्रस्तावित विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us