यी नायिका, जसले आमालाई शोषणको आरोप लगाउँदै भनिन्, ‘धन्यवाद मेरी आमा’

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १२:२३ मा प्रकाशित

एजेन्सी – बलिउडकी एक अभिनेत्रीले आफ्नी आमामाथि शोषणको आरोप लगाएकी छन् । मल्यालम सिनेमाकी चर्चित अभिनेत्री संगीता क्रिसले आफ्नी आमामाथि चरम शोषणको आरोप लगाएकी हुन् ।

हालै उनकी आमाले आफ्नो सम्पति हत्याउन छोरीले आफूलाई घरबाट निकालेको आरोप लगाएपछि सामाजिक सञ्जाल ट्विटरमा लामो पोस्ट लेख्दै संगीताले आमाको शोषणको खुलासा गरेकी हुन् ।

ट्वीटरमा उनले लेखेकी छन्,

‘प्यारी मम,
यो संसारमा ल्याएकोमा धन्यवाद ! १३ वर्षको उमेरमा नै स्कुलबाट निकालेर पैसा कमाउन काममा लगाएकोमा धन्यवाद ! खाली चेकहरूमा हस्ताक्षर गर्न लगाएकोमा धन्यवाद ! जीवनमा कहिल्यै काम नगरेका तिम्रा जड्याहाँ र दुर्बेशनी छोराहरूको ऐशआरामका लागि मलाई शोषण गरेकोमा पनि धन्यवाद ! तपाईंका निर्णयहरूमा हस्तक्षेप नगरोस् भन्नाका खातिर घरको एक कुनामा मलाई थन्काएकोमा धन्यवाद ! मैले उपाय ननिकाल्दासम्म मलाई बिहे गर्न नदिएकोमा पनि धन्यवाद ! लगातार मेरो पति र मेरो परिवारको शान्ति भंग गरेकोमा पनि धन्यवाद ! आमा कस्ती हुनुहुँदैन भनेर मलाई सिकाएकोमा धन्यवाद ! र अन्तमा पछिल्लो समय मलाई लगाएको आरोपको लागि पनि धन्यवाद ! किनकी जान अन्जानमा तपाईका यी क्रियाकलापले तपाईंकी लाटी सुधी बच्चालाई लडाकु र परिपक्व बनाएको छ । यसका लागि सँधै तपाईंलाई म माया गरिरहनेछु ।’

उनको सो ट्वीटमा उनका पति क्रिसले पनि समर्थन जनाउँदै उनको पीडा राम्ररी बुझेको लेखेका छन् । सिनेमामा उनलाई रसिका नामबाट चिनिन्छ । उनले ‘गंगोत्री’ नामक सिनेमाबाट डेब्यू गरेकी थिइन् । फिल्मफेयर अवार्ड विजेता रसिकाले सन् २००९ मा फिल्म निर्माता क्रिससँग विवाह गरेकी थिइन् । उनकी एक छोरी रहेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us