राज्यविरुद्धका गतिविधि गर्ने जो कोहीलाई छाड्दैनौँः गृहमन्त्री थापा

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते ११:३४ मा प्रकाशित

हेटौंडा, ४ बैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश र संविधान विरोधि गतिविधि गर्ने विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयत्न भैरहेको बताएका छन् । यसअघि पनि विप्लव समूहलाई मूलधारमा ल्याउन प्रयास भैरहेको र अब पनि प्रयास जारी राखिने उनले बताए ।

गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय गोष्ठीको कार्यक्रमलाई बुधबार बिहान सम्बोधन गर्दै उनले कानुन विपरित गतिविधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताए ।

उनले भने, ‘राज्यविरुद्धका गतिविधि गर्दा सिके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्य विरुद्धका गतिविधि गरेकै कारण विप्लवका नेता तथा कार्यकर्तालाई पक्रउ गरिएको हो । राज्यविरुद्धका गतिविधि गर्ने जो कोहीलाई छाड्दैनौँ ।’

भूमिसम्बन्धी अनियमितताको अन्त्य गर्नका लागि आफूहरु लागिपरेको बताउँदै गृहमन्त्री थापाले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो काम भनेर प्राथमिकताका साथ लागिपरेका छौँ ।’

देशको अखण्डतासँगै सुरक्षा चुनौति पहिले धेरै नै भए पनि अहिले भने त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us