काठमाण्डु, ३ वैशाख– बालुवाटारस्थित ललीता निवास रहेको सरकारी जग्गा व्यक्तिका नाममा पास गरेको प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई निलम्बन गर्न माग उठेको ।
नेकपा केन्द्रीय सदस्य मेटमणि चौधरीले छानबिनमा सहयोग गर्न पौडेल स्वयंले राजीनामा दिनु बुद्धिमानी हुने बताए । तर, पौडेल आफैंले नैतिक रुपमा राजीनामा नदिए पार्टीले निलम्बन गर्नुपर्ने उल्लेख गरे । ‘सरकारी जग्गा व्यक्तिका नाममा पास गर्ने व्यक्ति पार्टीको नेता रहन सक्दैन’, चौधरीले भने, ‘बुद्धिमानीपूर्वक राजीनामा नदिए छानबिनका लागि विष्णु पौडेललाई निलम्बन गर्नुपर्छ ।’
अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ललिता निवास प्रकरणमा दोषी देखिए पौडेलमाथि कारबाही हुनुपर्ने बताए । सरकारी जमिन व्यक्तिका नाममा ल्याउनेमाथि कारबाही गरी सत्य तथ्य छानिनि गरी त्यस सम्बन्धमा जनता र पार्टी पंक्तिलाई अवगत गराउनुपर्ने उनको भनाइ छ । ‘भएको के हो पार्टीपंक्ति र जनताले जानकारी पाउन जरुरी छ’, गैरेले भने, ‘जो दोषी छ, उसमाथि कारबाही हुनुपर्छ ।’ चौधरी र गैरै दुवैले पार्टी केन्द्रीय समिति बैठकमा सरकारी जमिन व्यक्तिका नाममा ल्याइएको प्रकरणमा छलफल हुने बताए । यद्यपि पौडेलले भने आफूले राजश्व तिरेर उक्त जग्गा खरिद गरेको प्रष्टीकरण दिएका छन् ।