
काठमाण्डु, १ वैशाख – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा शुद्धता भएपछि मात्र मुलुक सार्थक विकासको बाटोमा अगाडि बढ्ने बताएका छन् । रारा साहित्य प्रतिष्ठानको आयोजनामा संयुक्त रचना वाचन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेपालमा भएको प्राकृतिक सम्पन्नता र सुन्दरताको उपयोगका लागि राजनीतिमा शुद्धता आवश्यक रहेको बताए ।
उनले राजनीतिलाई शुद्ध बनाउन सत्ता लिप्सा र पैसाको राजनीतिको अन्त्य हुनुपर्ने बताए । पौडेलले भने, ‘राजनीतिलाई शुद्ध बनाउनका सत्ताको लिप्सा र पैसाको राजनीति अन्त्य हुन जरुरी छ । यही राजनीतिलाई शुद्ध बनाउने अभियान मैले सुरु गरेको छु ।’
पौडेलले कर्णालीको प्रकृतिसँग प्रविधि जोड्न सकेमात्र नेपालले विकासको फड्को मार्ने स्पष्ट पारे । उनले भने, ‘कर्णालीको प्रकृतिसँग आज प्रविधि जोड्न जरुरी छ । कर्णालीको प्रकृतिसँग प्रविधि जोड्न सकेमात्र नेपालले विकासको फड्को मार्ने छ ।’
उनले युरोपमा देखिने गरेको कृत्रिम सुन्दरता भन्दा धेरै गुणा प्राकृतिक रुपले नेपालको कर्णाली सुन्दर रहेको भन्दै कर्णालीको प्रकृतिका सुन्दरताको नेपालमा पहिचान हुन नसकेको बताए ।
पौडेलले कर्णालीको गर्भमा रहेका धेरै कुरालाई बाहिर ल्याउन नसकेका कारण नेपाल विपन्न भएको स्पष्ट पारे । पौडेलले भने, ‘युरोपभन्दा पनि हामी प्राकृतिक रुपमा कर्णाली अगाडि छ । हामीसँग प्राकृतिको सुन्दरता छ, हामीसँग झलझलाउदो हिमाल छ । हामीसँग उर्लेर बग्ने नदी छ । कर्णालीमा पाउने जडीबुटी कहीँ कतै पाउन सकिँदैन । कर्णालीको गर्भमा रहेको कुरा हामीले बाहिर ल्याउन सकेनौं भने हामी सधैँ गरिबको गरिब रहनेछौ । अब कर्णालीको भएका धेरै कुरा बाहिर ल्याउन जरुरी छ ।’