सकारविरुद्ध आन्दोलनमा उत्रिए इन्टरनेट सेवा प्रदायक संस्था

काठमाण्डु टुडे २०७५ चैत २९ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २९ चैत – इन्टरनेट सेवा प्रदायक संस्थाहरुले पनि सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

टेलिभिजन प्रसारणको अनुमति लिएका कम्पनीलाई विना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।

टेलिभिजन प्रसारक संस्थालाई विना प्रतिस्पर्धा नियम विपरीत इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै उनीहरुले शुक्रबार काठमाण्डुको कमलादीमा रहेको नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका छन ।

नियम, कानुन विपरीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रसारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्नुपरेको इन्टरनेट सेवा प्रदायक संघ, नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

सरकारले हाल नेपाल दूर सञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालन गर्ने अनुमति दिइरहेको छ । अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैले सो काम गर्न लागेकोमा पनि आफूहरुको आपत्ति रहेको संघको भनाइ छ ।

इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफूहरुले सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराईरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

उनीहरुले इन्टरनेट सेवा आफूहरुबाट सञ्चालन गर्ने कानुनी व्यवस्थाको उल्लंघन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबार नै नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापन पत्र पनि बुझाएका छन् । संघका अध्यक्ष भट्टले सरकारले आफूहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us