काठमाण्डु, २६ चैत – सरकारले ‘सान्जेन माथिल्लो’ जलविद्युत आयोजना र ‘सान्जेन’ जलविद्युत आयोजनाको सेयरका लागि पनि आवेदन खुला गरेको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलब ८ मेगावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलब ५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको पनि सर्वसाधारणका लागि शेयर भर्न आवेदन खुला गरिएको जानकारी गराएको हो ।
‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत यी दुई वटा आयोजना थप गरी सर्वसाधारणका लागि शेयर भर्न आवेदन खुला गरिएको पनि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।
उनले नागरिकले तत्काल प्रतिफल पाउने भएकाले त्यस आयोजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको पनि स्पष्ट पारे ।
१५ प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको शेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन ।
सरकारले जनताको स–साना पूँजी संकलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यस अघि त्रिशूली बी जलविद्युत आयोजनाको शेयर आह्वान गरेको थियो ।
सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अर्ब २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अर्ब २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।