तपाईंहरुको माया, साथ र हौसलाले म निको हुन सफल भएँ- इरफान खान

काठमाण्डु टुडे २०७५ चैत २१ गते १४:१७ मा प्रकाशित

एजेन्सी – बलिउडका अभिनेता इरफान खान लामो समय लण्डनमा क्यान्सर रोगको उपचार गराएर भारत फर्किएका छन् ।

उनी भारत फर्किएसँगै उनी फिल्म ‘हिन्दी मिडियम २’ का कारण चर्चामा रहेका छन् । यस फिल्मको छाया‌ंकन छिट्टै नै सुरु हुने चर्चा पनि भइरहेको छ । क्यान्सर रोग जस्तो गम्भीर रोग निको भएर भारत फर्किएका इरफानले सामाजिक सञ्जाल ट्विटर मार्फत उनका फ्यान तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

इरफानले ट्वीटरमा लेखेका छन्, ‘कैयौं पटक जितको दौडमा हामी माया पाउनु कति महत्वपूर्ण कुरा हो भन्ने बिर्सिन्छौं । तर जब हामी अप्ठयारोमा पर्छौँ तब ती सबै कुरा याद आउन थाल्छन् ।

मैले मेरो जीवनको यो क्षणसम्म आइपुग्दा कैयौं छाप छोडेको छु । यसैबीच यहाँहरुको माया, साथ र हौसलाले म निको हुन सफल भए । जसका कारण म अहिले फेरि यहाँहरु माझ फर्किएको छु । तपाइँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

इरफान खान फर्किएको खबरले सामाजिक सञ्जालमा उनका फ्यानहरु निकै नै खुशी देखिएका छन् । साथै बलिउड कलाकारहरुले पनि खुशी व्यक्त गर्दै इरफानलाई स्वागत गरेका छन् ।

इरफानलाई क्यान्सर रोग लागेको थाहा पाएपछि उनका फ्यानहरुले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us