‘भद्रगोल’को युट्युब भ्यूज चोरी !

काठमाण्डु टुडे २०७५ चैत २० गते १७:०२ मा प्रकाशित

काठमाण्डु, २० चैत्र – नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला भद्रगोल’को युट्युब भ्यूज चोरी भएको छ ।

चर्चित हास्यटेलिश्रृंखलाको युट्युब भ्यूज चोरी भएको टेलिश्रृंखलाका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले आफ्नो फेसबुकमा राखेका छन् । उनका अनुसार युट्युबमा राखिएको ‘भद्रगोल’को २ सय ४ औँ श्रृंखलाको बाहिर देखाउने भ्यूज र भिडियो खोलेपछि देखाउने भ्यूजमा फरक आएको हो ।

अर्जुनले ‘भद्रगोल’को युट्युब भ्यूज चोरी भएको र त्यस्तो कार्य तत्काल बन्द गर्न अनुरोध गरेका छन् । साथै उनले आफ्नो आईटी टीम भ्यूज चोरी गर्ने व्यक्ति अथवा संगठन पत्ता लगाउने अन्तिम चरणमा पुगेको बताएका छन् ।

सत्यता के हो ?
‘भद्रगोल’ को आधिकारिक फेसबुक पेजमा राखिएको जानकारीलाई आधार मान्ने हो भने, मार्च २२ मा रिलिज भएको ‘भद्रगोल’को २ सय ३ भाग भोलिपल्ट साँझ सात बजेर ४ मिनेटमा बाहिरबाट हेर्दा ९ लाख ३१ हजार भ्यूज देखाएको छ तर सोही समयमा भित्र खोलेर हेर्दा ७ लाख ६१ हजार ५ सय ८८ भ्यूज देखाउँछ । एउटै समयमा बाहिर र भिडियो खोलेर हेर्दा देखिने भ्यूजमा २ लाखको हाराहारीमा घटेपछि भद्रगोलको टीमले यो कुरा बाहिर ल्याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us