यात्रु बोकेको नेपाल एयरलाई एटिसीले ४ मिनेट समय नदिँदा…

काठमाण्डु टुडे २०७५ चैत २० गते १२:०२ मा प्रकाशित

काठमाण्डु, २० चैत्र – मंगलबार राति नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको दुबई उडान रद्ध भएको छ । राति १० बजे विमानस्थल बन्द हुने व्यवस्था रहेको भन्दै एटिसीले अनुमति नदिएपछि उडान रद्ध भएको नेपाल एयरलाइन्सका प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए ।

लामाका अनुसार जहाजमा १७६ जना यात्रु र १४ जना चालकदलका सदस्य थिए । क्याप्टेनले जहाजमा प्यासेन्जर बोर्ड भइसकेको र केबल चार मिनेटमात्र थप गरिदिन आग्रह गरेका थिए तर पनि विमानस्थलले नदिएको कारण उडान रद्ध भएको भन्दैे लामाले भने, ‘यसो हुँदा एकातिर दुबई जाने भनेर जहाज चढिसकेका यात्रुहरु एकातिर मानसिक तनावमा परे अर्को्तिर हामीलाई पनि क्षति भयो ।’

जहाज ह्यांगरबाट तानेर ल्याउन दिने, प्यासेन्जर बोर्ड पनि हुन दिने तर चार मिनेट समय नदिएर विमानस्थलले राष्ट्रिय ध्वजावाहकमाथि अन्याय गरेको लामाको भनाइ छ ।

‘१० बजे विमानस्थल बन्द हुँदैछ भन्ने थाहा पहिलै थियो त्यहीअनुसार कि पहिलै बोर्ड हुन किन दिएको ? दिइसकेपछि २ देखि ४ मिनेटको समय पनि दिननसक्ने ? विदेशी एयरलाइन्सलाई जसरी पनि समय मिलाउने अनि हामीलाई वास्तै नगर्ने ?’ लामाले भने, ‘यसरी नेपाल एयरलाइन्समाथि चौतर्फी हमला हुने हो भने हामी कसरी अघि बढ्ने हो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us