कलाकार सरिता लामिछानेविरुद्ध उजुरी

काठमाण्डु टुडे २०७५ चैत १५ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, १५ चैत –आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा उजुरी परेको छ । कलाकार संघका साधारण सदस्य सुरज आरडीले उनी विरुद्ध उजुरी दिएका हुन् ।

कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै उनले लामिछानेविरुद्ध उजुरी दिएका हुन् । आरडीले कलाकार लामिछानेमाथि २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । कलाकार विधानमा भने ५ वटा फिल्म अभियन गर्नुपर्ने प्रावधान राखिको छ ।

थोरै फिल्म खेलेर पनि कलाकार संघमा बढी चलखेल गर्नेले गर्दा धेरै फिल्म खेलेका कलाकारहरु पछि परेको अरोप आरडीले लगाए ।

उनले उजुरीमा भनेका छन्, ‘ नेपाल चलाचित्र कलाकार संघको विधान २०५६ को परिच्छेद ३ दफा ३ उपदफा २ (ख) बमोजिम साधारण सदस्य बन्न कम्तीमा ५ वटा फिल्म खेलेको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेकोमा हाल संघको महासचिव जस्तो गरिमामय पदमा रहेकी सरिता लामिछाने जसले सदस्यता लिएको बखतमा जम्मा २ वटा फिल्म मात्र अभिनय गरेको जानकारी आएकोमा विधानको उक्त दफाको दुरुपयोग गरी सदस्यता प्राप्त गरेको सोही विधानको पृष्ठ ५३ मा उल्लेखित सदस्यता सम्बन्धी व्यवस्थामा कुनै पनि सदस्यले झुट विवरण पेश गरी सदस्यताको आवेदन पेश गरेकोमा विधानको दफा ७ (क) बमोजिम कुनै पनि बेला सदस्यता खारेज गरिनेछ भन्ने स्पष्ट प्रावधान उल्लेखित गरिएकोमा सो प्रावधान बमोजिम भएको सदस्यताको हैसियत के ? कसो हो छानबिन गरी कारबाही गरी पाउँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us