लगानी सम्मेलनको कार्यतालिका सार्वजनिक, ४० देशबाट ६०० जना सहभागी

काठमाण्डु टुडे २०७५ चैत १३ गते १३:५५ मा प्रकाशित

काठमाण्डु, १३ चैत – लगानी सम्मेलनमै विभिन्न १२ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने सरकारको तयारी छ । यहि १५ र १६ गते हुने दुईदिने लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र नीजि क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा ४० देशबाट ६०० जनाभन्दा बढी विदेशी लगानी कर्ताको उपस्थिति हुनेछ । सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था नेपाली नीजि क्षेत्र गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सहभागिता रहनेछ ।

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, विश्व बैकका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्यभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केइको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ ली, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर युनिलिभर लगायतका उच्च पदस्थ पदाधिकारीको सहभागी हुने लगानी बोर्डले जनाएको छ ।

दुई दिने सम्मेलनमा पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतिकरण हुनेछ । त्यसैगरी नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी सम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुनेछन् ।

दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत तथा तीनवटा प्लेनरी सत्रहरु सञ्चालन हुनेछन् । सम्मेलनलाई नै लक्षित गरेर सरकारले सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन समेत गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us