शेयर बजारमा सुधार जारी

काठमाण्डु टुडे २०७५ चैत १२ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, १२ चैत – सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४२ ले वृद्धि भई २४२.६७ विन्दुमा पुगेको छ ।

कूल १७१ कम्पनीको आठ लाख ८२ हजार ८८५ कित्ता शेयर रु २१ करोड ५१ लाख २१ हजार ५८० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये लघुवित्त उपसमूहको शेयर ५.१२ विन्दुले घटेको छ । बैंकिङ १.१६, होटल १.९४, विकास बैंक ०.०२, जलविद्युत् ३.२२, वित्त ०.२८, निर्जीवन बीमा २४.१९, उत्पादन ११.०६, अन्य ५.४२ र जीवन बीमा ०.५८ विन्दुले बढेका छन ।

सामान्य बढेको बजारमा नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको रु एक करोड ५८ लाख ३१ हजार ४८० बराबरको कारोवार भयो । यस्तै एनएमबी बैंकको रु ९६ लाख ४४ हजार ७९४, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ७४ लाख १७ हजार ५१४, प्राइम बैंक रु ६४ लाख ५३ हजार १५४ मा कारोवार भइ शीर्ष स्थानमा रह्यो ।

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशतले कमाउँदा एनएमबी हाइब्रिड फण्ड ३.९५, पोखरा फाइनान्स ३.०८, भार्गव विकास बैंक २.८६ प्रतिशतले कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७ प्रतिशतले गुमाएका छन् । शिवम सिमेन्ट ९.८१, मिथिला लघुवित्त वित्तीय संस्था ५.५४, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.११ प्रतिशतले गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us