काठमाण्डु, ७ फागुन – सिनेमाको पर्दामा फरक फरक भूमिकामा देखिएकी अभिनेत्री रेखा थापा पछिल्लो समयमा वास्तविक जीवनमै विभिन्न भूमिकामा देखिन थालेकी छन् ।
सिनेकर्मबाहेक सामाजिक क्षेत्र र राजनीतिमा देखा परेकी थापाले पछिल्लो समय नेपालमै पहिलो पटक हुन लागेको महिला क्रिकेट लिगको चारमध्ये एक टोली खरिद गरेकी छिन् ।
‘आफ्नो प्रतिभा र क्षमता प्रस्फूटन गर्न चाहने महिलालाई हौसला दिन रेखा थापा जहाँपनि उभिन्छे,’ थापाले भनिन्, ‘नेपाली महिला खेलाडीहरू पछि परेका छन् । मेरै टोलीकी क्याप्टेनले थाइल्याण्डविरुद्ध खेलेर दोस्रो भइ फर्कदा सम्मान त परै जाओस्, कसैले वास्ता गरेनन् ।’
उनले राजनीतिमा लामो समय बिताइसक्दा पनि खासै चर्चामा आउन नसकेपछि उनले खेल रोजेकी हुन् भन्नेहरू पनि छन् ।
बीबीसीसँग उनले भनिन्, ‘जुन पेशाको भए पनि जिम्मेवार व्यक्तिले कुरा नउठाए कसले उठाउँछ। पाकिस्तानमा खेलकुदकै व्यक्ति अहिले प्रधानमन्त्री भएका छन् । रेखा थापालाई कुर्सी र पद चाहिएको होइन। तर एउटा कुरा चाहिँ के हो भने नीति र नियम बनाउने ठाउँमा यदि हामी गएनौं भने मैले जनता र महिला दिदीबहिनीको गुनासो र सम्बोधन गर्ने कुरामा कमी ल्याउन सक्दिनँ ।’
उनले भनिन्, ‘हामीले पनि गुनासो गर्ने मात्रै हुन्छ । जुन प्रणाली पहिलादेखिनै गलत छ । राजनीति आज रोपेर भोलि फल्ने कुरा होइन ।’
६ वर्षअघि तत्कालीन माओवादीमा प्रवेश गरेकी थापा पछिल्लो समय राप्रपा नेपालसँग आवद्ध छन् ।
बलिउडका केहि अभिनेत्रीहरुले इन्डियन प्रिमियर लिगका टिमहरू किनेर चर्चामा आएपछि थापाले पनि उनीहरुकै सिको गरेको हो की भन्दै उनको पछिल्लो कदमको चर्चा पनि चलेको छ ।