चलचित्र ‘दाल भात तरकारी’को प्रदर्शन मिति सर्‍यो

काठमाण्डु टुडे २०७५ चैत १ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, १ चैत – वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’ले आफ्नो प्रदर्शन मिति एक हप्ता पछि सारिएको छ ।

वैशाख १३ गते नै हलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जरस् इन्ड गेम’ रिलिज हुने पक्का छ । यसै चलचित्रको कारण दाल भात तरकारीले आफ्नो रिलिज मितिलाई पछाडि सारेको चर्चा पनि भएको छ ।

सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रमा अब मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुँवर, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतको अभिनय रहेको छ ।

मह सञ्चारको व्यानरमा निर्माण भएको यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्रको सार्वजनिक पहिलो गीत ‘भिजिट भिसामा’लाई युट्युबमा एक करोड भन्दा धेरैले हेरिसकेका छन् । दोस्रो गीत शुक्रबार रिलिज हुदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us