‘विप्लव’माथिको प्रतिवन्ध तत्काल फिर्ता गरः गायक बद्री पंगेनी

काठमाण्डु टुडे २०७५ फागुन २९ गते ११:२० मा प्रकाशित

काठमाण्डु, २९ फागुन – लोकप्रिय गायक बद्री पंगेनीले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माथि सरकारले लगाएको प्रतिवन्ध तत्काल फिर्ता गर्न माग गरेका छन् । गायक पंगेनीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘द्धन्दबाट अहिलेसम्म कुन देश बन्या छ र ? विप्लवको प्रतिवन्ध तत्काल फिर्ता गर ।’

द्वन्द्वबाट अहिलेसम्म विश्वमा शान्ति र स्थिरता नभएको उल्लेख गर्दै गायक पंगेनीले विप्लवलाई जवर्जस्ती युद्धमा नधकेल्न सरकारसँग अनुरोध गरेका छन् ।

गायक पंगेनीले ध्वंश र विनासबाट मुलुक नबन्ने भन्दै अब देशले बम र बारुदको गन्ध सहन नसक्ने बताएका छन् । मुलुकलाई नै विखण्डन गर्ने क्रियाकलाप सञ्चालन गरिरहेका सिके राउतलाई आलिङगनमा बाँधेर देशभक्त विप्लवलाई प्रतिवन्ध लगाउनु शोभा नदिने पंगेनीको भनाई छ ।

गायक पंगेनीले प्रचण्ड र केपी ओलीलाई इंगित गर्दै हिजोको जनयुद्ध स्मरण गर्न अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘हिजो केपी ओली र प्रचण्डमाथि पनि तत्कालिन् राज्य व्यवस्थाले प्रतिवन्ध लगाएकै हो ।

तर, त्यसबाट युद्ध रोकिएको थिएन । त्यसैले पनि सरकारमा पदाशिनहरुले समयमै आँखा खोल्नुपर्छ ।’ यिनै कुराहरुलाई समेटेर गायक पंगेनीले आफ्नो फेसबुकमार्फत कवितात्मक शैलीमा स्टाटस लेखेका छन् ।’

द्वन्दबाट अहिलेसम्म कुन देश बन्या छ र ?
विप्लवको प्रतिवन्ध तत्काल फिर्ता गर ।

ध्वंश अनि बिनास होइन, बिकास निर्माण रोजौं
वार्ता अनि संवादबाटै सहमति खोजौं

अब देशले सहदैन बम बारुदको गन्ध
तिमिलाइ पनि लागेकै हो हिजो प्रतिबन्ध

हिजोकै पाठ पढेर नि खोल्नु पर्छ आँखा,
सिके दाइलाइ अंगालोमा बिप्लब किन पाखा ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us