अक्षयकुमारले १ सय नव दम्पतीहरुलाई १–१ लाख रुपैयाँ सहयोग दिने

काठमाण्डु टुडे २०७५ फागुन १८ गते १६:०३ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षयकुमार केही समय यता सामाजिक चेतनायुक्त चलचित्रमा देखिएका छन् । तर आलोचना गर्नेहरुले उनका यी चलचित्रलाई प्रोपागाण्डा भने पनि उनले सामाजको नजरमा गलत भनिएका कतिपय कुराहरुलाई आफ्ना चलचित्रका कारण सहज बनाइदिएका छन् ।

उनी चुरोटले स्वास्थ्यमा पार्ने असर, ट्राफिक नियमको पालना र सेनेटरी प्याडको प्रयोगसँग सम्बन्धित विज्ञापनमा पनि देखिएका छन् । र केही समय अगाडि मात्र उनले पुलवामा हमलामा शहीद भएका सेनाका परिवारलाई पाँच करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

उनले भर्खरै एक ‘च्यारेटी इभेन्ट’मा एकसय नयाँ दुलहीहरुलाई एक–एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । उनी एक सामुहिक विवाहमा गएका थिए । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नवीसको उपस्थितिमा लगभग एकसय गरिब तथा सुविधाबाट वञ्चित युवाहरुले विवाह गरेका थिए । अक्षय उनीहरुलाई आशिर्वाद दिन त्यहाँ पुगेका थिए ।

समाचार स्रोतका अनुसार उनले त्यहाँ गएर आशिर्वाद मात्र दिएनन्, आर्थिक समस्याबाट ग्रसित सबै एक सय नव–विवाहित जोडीलाई उनीहरुको वैवाहिक जीवनको सुरुवाती दिनहरु खुशियालीसँग बितून् भन्दै एक–एक लाख भारतीय रुपैयाँ पनि दिने घोषणा गरेका छन् । अक्षय कुमारको यस निर्णयको भारतीय मिडियामा खुबै प्रशंसा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us