प्रियंका र आयुष्मान बने खानेपानी मन्त्रालयको महिनावारी स्वच्छता दूत

काठमाण्डु टुडे २०७५ फागुन १४ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, १४ फागुन – खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नुपरेको समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कार्की र जोशीलाई स्वच्छता दूतमा नियुक्त गरेको हो ।

मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमति अनुसार उनिहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो ।

खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेकी थिइन् । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो ।

मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिइन् ।

उनले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताइन् । कलाकार तथा अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाएको छ ।

पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् । उनीहरुले ६ वटा महिला मैत्री शौचालय बनाउने र किशोरीहरुलाई स्यानिटेशन प्याडसमेत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us