काठमाण्डु, १२ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले रचना गरेको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ को शनिबार लोकार्पण भएको छ । राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाबाट संयुक्तरूपमा गीतिसंग्रहको विमोचन गरिएको थियो ।
‘जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग’ बोलको गीत विभिन्न सातवटा भाषामा रेकर्डिङ भइ सार्वजनिक गरिएको छ । संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीले आ–आफना आवाज दिएका छन् ।
गीत लोकार्पण कार्यक्रममा बोल्दै गीतकार थापाले विभिन्न सात भाषामा गीतिसंग्रह सार्वजनिक हुन सकेकोमा खुसी भएको बताएका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक संगठनले आयोजना गरेको कार्यक्रममा गीतकार भूवन पाठक, भक्ति सिटौला र राजेश गिरीको एल्बमसमेत लोकार्पण गरिएको थियो । यसैगरी, जहाँ छन् बुद्धका आँखा लगायत गीतका गीतकार डा. बमबहादुर थापा जितालीलाई सम्मान गरिएको थियो ।
https://www.facebook.com/KamalThapaOfficial/videos/1176273115861370/?t=1