एजेन्सी – बलिउडका चर्चित अभिनेता रणवीर सिंह आजभोलि सफलताको शिखरमा छन् । उनका पछिल्ला फिल्मले करोडौं कमाउन सफल भएका छन् भने उनको अभिनयको पनि वाहवाही पाइरहेको छ ।
पद्मावत, सिम्बा र गली ब्वाइ गरी तीन वटा लगातार हिट फिल्म दिएका रणवीरले अब बलिउडका अग्रज कलाकारको पदचाप पछ्याउने भएका छन् । आमिर खान, सलमान खान र अक्षयकुमार लगायत अरू दिग्गज कलाकार झैं रणवीरले पनि आफ्नो फिल्मबाट पारिश्रमिक नलिने निर्णय गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार रणवीरले अब फिल्मबाट पारिश्रमिकको साटो ‘नाफा’ लिने बताएका छन् । अर्थात् फिल्मले कमाएको नाफाको निश्चित प्रतिशत । रणवीरको नयाँ फिल्म ‘८३’ आउँदैछ । कबिर खानद्वारा निर्दे्शित यो फिल्ममा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरेका छन् ।
रणवीरले यो फिल्मको पनि पारिश्रमिक नलिई नाफा लिने बताइएको छ । सफलता बढेसँगै रणवीरको ‘ब्रान्ड भ्यालू’ बढिरहेको छ । उनको बढ्दो उचाइ र प्रभाव देखेर निर्माताहरूले पनि उनलाई नाफा हिस्सा दिन आनाकानी नगरेको सञ्चारमाध्यमहरूले बताएका छन् । उनले कति प्रतिशत हिस्सा लिन्छन् भन्नेबारे जानकारी छैन ।