भारतमा दुई बालकले राखे नेपालको नाम

काठमाण्डु टुडे २०७५ फागुन ७ गते १५:०६ मा प्रकाशित

काठमाण्डु, ७ फागुन – भारतीय टेलिभिजन च्यानल जिटिभीमा प्रसारण भइरहेको कार्यक्रम ‘सारेगमप लिटिल च्याम्प्स’ मा दुई नेपाली बालकले प्रतिस्पर्धा गरिरहेका छन् । इटहरीका प्रितम आचार्य र भक्तपुरका आयुस केसी सारेगमप लिटिल च्याम्प्स् को टप १५ मा पर्न सफल भएका छन् ।

गायन प्रतिस्पर्धामा उनीहरू दुवै खरो उत्रिँदै टप १५ मा छनौट भएका हुन् । कार्यक्रमको नियमअनुसार यो राउन्डबाट टप १५ जना मात्र छानिने भए पनि जजहरूले यसपालि १६ जना छानेका छन् ।

सारेगमप कार्यक्रम जिटिभीमा सबभन्दा लामो समयदेखि चल्दै आएको कार्यक्रम हो । सन् २०१९ सम्म आइपुग्दा यो कार्यक्रमले २३ वर्ष पूरा गरिसकेको छ ।

सारेगमप लिटिल च्याम्प्स भने सन् २००६ बाट सुरू भएको हो । यही फेब्रुअरी ९ बाट सुरू भएको हो सिजन सातौं हो । यसमा ५ देखि १४ वर्षका केटाकेटीले भाग लिन पाउँछन् ।

यो सिजनमा गायकहरू शान, अमाल मलिकका साथै रिचा शर्मा जज छन् । कार्यक्रममा ३० जना जानेमाने गायक–संगीतकारको ग्र्यान्ड जुरी पनि छ । प्रतिस्पर्धीले अगाडि बढ्न जजका प्रतिक्रियाका साथै ग्र्यान्ड जुरीको पनि मन जित्नुपर्ने हुन्छ ।

टप १६ मा छानिएका आयुस र प्रितम दुवै बिक्रम सम्वत् २०७२ मा कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘सुरशाला आइडल जुनियर’ का प्रतिस्पर्धी थिए । आयुस प्रतियोगिताका विजेता हुन् भने प्रितम उप–विजेता हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us