काठमाण्डु, ७ फागुन – ‘लुट कान्छ लुट..’गीत निकालेका पशुपति शर्माले यतिबेला नेपाली मात्र नभएर विदेशी सञ्चार माध्यममा पनि चर्चा पाउन थालेका छन् ।
गत बिहीबार उक्त गीत सार्वजनिक गरेका शर्मा नेपाली दर्शकको मनमनमा बस्न सफल भए पनि सरकार र राष्ट्रपतिलाई नै गाली गरेपछि विवादमा तानिए ।
उनै शर्मालाई विदेशी मिडियाले पनि स्थान दिन थालेका छन् । कतारको चर्चित मिडिया अलजजिलाले शर्मालाई धम्कीपूर्ण फोन आएपछि यूट्युवबाट गीत हटाएको जनाएको छ ।
उक्त अनलाइनमा प्रकाशित समाचारअनुसार गायक शर्मालाई नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठनबाट धम्की आएको उल्लेख गरिएको छ । समाचारमा युवा संघ नेपालले लेखेको फेसबुक स्ट्याटस राखेर शर्मालाई धम्की दिइएको जनाइएको छ ।
‘पशुपति शर्माको उक्त गीत देशैभर फैलिएको भ्रष्टाचारको विरुद्धमा उत्रिएका जनतामाथि आक्रामक तरिकाले छायो’, समाचारमा नेपाली स्थानीय संचारमाध्यमलाई उद्धृत गर्दै भनिएको छ, ‘सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठनले धम्की दिएपछि उक्त गीत हटाइएको हो ।’
समाचारमा भनिएको छ, ‘पशुपति शर्माको ‘लुट्न सके लुट, नेपाल मै छ छुट…’ को भिडियोलाई हटाइएको छ(जो तपाईले सुन्नसक्नुहुन्न, केवल नेपालमा मात्र अनुमति छ ।) गीतले देशमा व्याप्त भ्रष्टचारविरुद्धमा बोलेको छ । जुन धेरै मानिसहरुले साथ दिइरहेका छन् । ’
‘तिनीहरुले गीतका केही शब्द मन पराएनन् । त्यसैले गीलाई यूट्युवबाट हटाएँ । म यसलाई संशोधन पछि अपलोड गर्छु’, पशुपतिले सोमबार एक स्थानीय सञ्चारमाध्यमसँग भनेका छन् ।