कपिल शर्माको शोबाट सिद्धू ‘आउट’, अर्चनाको ‘इन्ट्री’

काठमाण्डु टुडे २०७५ फागुन ६ गते १७:३९ मा प्रकाशित

एजेन्सी – भारतीय कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा’ शो बाट नवजोत सिंह सिद्धू हटाइएका छन् । उनको ठाउँ अर्चना पूरन सिंहले लिएकी छन् ।

सोनी टिभीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् एक भिडियो पोस्ट गर्दै शोमा अर्चनाको स्वागत गरेको छ । भिडियोमा कपिलले अर्चनालाई कार्यक्रममा स्वागत गर्दै सिद्धू बस्दै आएको स्थानमा बसाएका छन् ।

भिडियोमा अर्चनालाई देखेर कपिलले सोध्छन्, तपाईं कसरी यहाँ आउनुभयो ? जवाफमा अर्चनाले भन्छिन्, तिमी, कृष्णा, भारती सबै यहाँ छौ । मलाई चाहिँ बिर्सियौ ?

यति भनेर हाँस्दै कपिलले अर्चनालाई आसनग्रहण गराउँछन् । अर्चना पनि उनका लागि तयार गरिएको नयाँ सोफामा बस्छिन् । उनले दुइवटा शोका निम्ति सुटिङ पनि गरिसकेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत सातादेखि नै सिद्धूको ठाउँमा अर्चना हुने समाचार आइरहे पनि च्यानलले आधिकारिक घोषणा भने गरेको थिएन । उसले ट्विट गरेसँगै यो खबर निश्चित भएको हो ।

गत साता कश्मिरको पुलवामा भएको आतंकी हमलाका बारेमा दिएको टिप्पणीका कारण पन्जाबका मन्त्री समेत रहेका सिद्धू विवादमा तानिएपछि र उनको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि ‘द कपिल शर्मा शो’ बाट उनलाई निकालिएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार सिद्धूले पुलवामा हमलाबारे सञ्चारमाध्यममा भनेका थिए, ‘यो हमलाका लागि कुनै देश वा कुनै व्यक्तिलाई दोषी भन्नु गलत हो। आतंककारीको कुनै जात र धर्म हुँदैन। सबै ठाउँमा राम्रा, नराम्रा र अति नै नराम्रा मान्छे हुन्छन्। सबै देशमा हुन्छन्। अति नराम्रालाई सजाय दिनुपर्छ।’

कश्मिरको श्रीनगरबाट करिब २० किलोमिटर टाढा बिहीबार भएको आक्रमणमा कम्तीमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us