पशुपतिले भने– पुनः गीत अपलोड गर्छु

काठमाण्डु टुडे २०७५ फागुन ६ गते १२:०८ मा प्रकाशित

काठमाण्डु, ६ फागुन – लोकगायक पशुपति शर्माले विवादित गीत ‘लुट्न सक्छौँ लुट’ युवा संघको दबाबका कारण आफूले युट्युब च्यानलबाट हटाएको बताएका छन् । एक टेलिभिजनमा गायक शर्माले नेकपानिकट युवा संघले दबाब दिएको खुलासा गरेका हुन् ।

उनले भनेका छन्, ‘गीतबाहिर आएपछि युवा संघ नेपालका दुई–तीन जना साथीहरुले फोन गर्नुभएको थियो । फोनका आपत्ति जनाउनुभयो । अलि सरल भाषामा कुरा गर्नुभएको थियो । तर, विज्ञप्ति भने निकै कडा भाषामा निकाल्नुभएछ ।’

आफू कसैको चित्त दुखाउने र कसैको नराम्रो चिताउने व्यक्ति नभएकाले गीत युट्युबबाट हटाएको शर्माले प्रष्टीकरण दिएका छन् । साथै, शर्माले आफूमा राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रहार गर्ने कुनै मनसाय नरहेको समेत बताएका छन् ।

उनने भनेका छन्, ‘मैले प्रधानमन्त्रीलाई कुनै प्रहार गरेको छैन् । यमराजको शासन भनेको अहिलेको भन्दा पनि हजुरबुबाको पालादेखिको अहिलेसम्म आउँदा पनि स्वर्गजस्तो देशमा इन्द्रको शासन भएन भनेको हुँ ।’

उनले राष्ट्रपतिलाई घोचपेच गर्ने मनसाय नरहेको पनि स्पष्ट पारेका छन् । तर, देशको नागरिक भएकाले राष्ट्रप्रमुखदेखि सबैलाई सचेत गराउनु एउटा कलाकारको कर्तव्य र अधिकार भएको उनको दावी छ ।

शर्माले यमराजको शासन, राष्ट्रपतिलाई समेटिएका केही शब्द परिमार्जन गरेर पुनः गीत अपलोड गर्ने बताएका छन् ।

साथै उनले आफू कुनै पार्टीसँग सम्बद्ध नरहेको र स्वतन्त्र कलाकार भएको स्पष्ट पारेको छन् । नेपाल भ्रष्टाचारमा व्याप्त रहेकाले समयमै सचेत रहन पनि उनले आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us