काठमाण्डु, ५ फागुन – देशमा केहीदिनदेखि चिसो मौसम बढे पनि लोकगायक पशुपति शर्माले ल्याएको ‘लुट्न सके लुट’ गीतले देशको माहोल तताएको छ ।
गत बिहीबार मात्र सार्वजनिक उक्त गीत सरकारविरुद्धमा थियो । समयसान्र्दभिक गीत ल्याएको भन्दै शर्मालाई धेरैले धन्यवाद दिए ।
तर, सरकारको विरोध गरेको भन्दै शर्माले उक्त गीतको भिडियो युट्युबबाटै नै हटाउनुपर्यो । उनले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै उक्त गीत युट्युबबाट हटाउको जानकारी दिए ।
तर, उनका समर्थकले सरकारको चर्को आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि शर्माको गीत युट्युबबाटै हटेपछि सरकारलाई दोष थुपरेको छ ।
रमाइलो त के छ भने शनिबार साँझ किर्तिपुर केन्द्रबिन्दु बनाएर भुइँचालो गयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले ‘भुइँचालोको धक्का !’ भनेर ट्वीट गरे । उनको ट्वीट भूकम्प केन्द्रीत भए पनि आलोचकले त्यसलाई बंग्याएर पशुपतिको गीतसँग तुलना गरे ।
जोन गुरुङले भनेका छन्, ‘भूकम्पमा गीत परेको हो कि गीतमा भुकम्प परेको हो, ४ माग्निच्युट मै चैट ?’
सुरेश खड्का लेख्छन्, ‘श्री पशुपतिनाथले त झन तपाईंहरुको पार्टी, सत्ता, नैतिकता सबै हल्लाई दिए बरै !’
सन्तोष अधिकारी लेख्छन्, ‘पशुपतिको गीतले त होइन नि । धक्का महसुस भएको ? हुनपनि ८ हरफ जति गीत गाएर ८ रेक्टारकै बराबर कम्पन दिएछन्, धक्का महसुस हुनु स्वाभाविक हो २–३ भएको बेला, हल्का बहुमत मात्र भएको भए त गर्ल्याम्म ढल्थ्यो होला ।’
यस्तो छ गीत
पञ्चायत सुने, बहुदल र गणतन्त्र भोगें,
तर देश र जनातको विस्वार्थ रुपले माया गर्ने नत कुनै नेता भेटे नत अरु कोही त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट
हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो
स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो
बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ
त्यसकै छोरो पढ्न फेरि बोडिंगतिर जान्छ
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ
हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो
दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ?
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा
त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
वाइडबडी जहाँज किने अरे लुट्नुसम्म लुटे
सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे ?
ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन्
कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन्
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘
हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन्
हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ?
गर्ने काम केही हैन, ठूला ठूला भाषण
स्वर्गजस्तो देशमा हजुर यमराजको शासन
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन
ट्राफिक पुलिस सीटी फुक्छ, कोहीले सुन्ने हैन
त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च
हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ ?
लट्न सके लुट कान्छा, लुट्न सके लुट
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा
झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा
यता गयो लुटेकै छन् लुट्छन् उता गयो
सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाईँदैन नेपालमै हो छुट
ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन्
तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् ।
अब गर्न छोड्दे कान्छा आदर्शको खेती
केही न केही त बुझिस होला भनेपछि यति
लट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाईँदैन नेपालमै हो छुट
गीत हटाएपछि यस्तो छ पशुपतिको विज्ञप्ति
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार १
हिजो रिलीज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।
सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो ।
मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।
सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।
र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।
धन्यवाद ।
पशुपती शर्मा
https://www.youtube.com/watch?v=ePR3-ZPgOs8
()