त्रिविले यो वा त्यो बहानामा स्ववियु निर्वाचन टार्न पाउँदैन्: रञ्जित तामाङ (अन्तर्वार्ता)

काठमाण्डु टुडे २०७५ माघ २९ गते १२:४४ मा प्रकाशित

विद्यार्थीको हकहितको पक्षमा वकालत गर्दै आएका अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने अडानमा छन् । त्रिविले यो वा त्यो बाहनामा चुनाव सार्न नुहने अध्यक्ष तामाङ बताउँछन् ।

नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले स्ववियु निर्वाचन भाँड्न राजीनामा दिएको भन्दै अध्यक्ष तामाङ व्यक्तिगत स्वार्थका कारण समस्त विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न नहुने बताउँछन् ।

अन्य विद्यार्थी संगठनले स्ववियु निर्वाचन सार्ने बहानाबाजी गरिहेकै बेला अनेरास्ववियु र अखिल(क्रान्तिकारी) मात्रै किन स्ववियु निर्वाचन गराउनैपर्छ भनेर लागिरहेका छन् ? साथै अहिलेकै अवस्थामा स्ववियु निर्वाचन सम्भव होला त ? भनेर उनै अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङसँग काठमाण्डुटुडेले गरेको कुराकानीको अशंः

नेविसंघ सभापति नैनसिंह महरले राजीनामा दिँदा स्ववियु निर्वाचनमा कस्तो असर पर्छ ?

नेविसंघको आन्तरिक विवादका बाबजुद पनि स्ववियू निर्वाचन भाँड्ने पर्ने गरी नै नैनसिंहजीको राजीनामा आएको हो भन्ने हाम्रो ठम्याइ छ । स्ववियू निर्वाचन नगर्ने उदेश्यले र स्ववियू निर्वाचन प्रभावित गर्ने उदेश्यले उहाँको राजीनामा आएको भन्ने हाम्रो ठहर छ ।

अहिलेकै अवस्थामा होला त स्ववियु निर्वाचन ?

हामीले हिजो मात्रै संयुक्त अखिलको बैठक बसेर स्ववियू निर्वाचन फागुन १४ गते नै गर्ने र त्यसका लागि कार्यतालिका सार्वजनिक गर्न फागुन २ गतेसम्मको विश्वविद्यालय प्रशासनलाई अल्टिमेटम दिएका छौं । २ गते भित्रमा स्वतन्त्र विद्यार्थी युनियनको कार्यतालिका सार्वजनिक नभए स्ववियु निर्वाचनको मिति तोक्नका लागि विश्वविद्यलयका पदाधिकारीविरुद्धमा हामी संघर्षको कार्यक्रम गर्छौं ।

नेविसंघको आरोप छ– अखिल –क्रान्तिकारी)र अनेरास्ववियुकै एकता भएको छैन् । हामीलाई दोष थुपारेर पानीमाथिको ओभानु बन्न खोजे । के यो सत्यता हो ?

नेविसंघले दोषको जिम्मा किन लिनुपर्यो ? नेविसंघ नेताहरु स्ववियु निर्वाचनमा आफ्नो संकास्पद हार देखिसकेपछि विभिन्न बहानाबाजी बनाएर भाग्ने गरेका छन् । शेरबहादुर देउवा आफैंले स्ववियु निर्वाचन गर्न सकिँदैन भनेर रुपमा बोलिसक्नु भएको छ । हाम्रो एकता नहुँदा त्यसको फाइदा नेविसंघलाई नै हुने होइन र ? हाम्रो एकतामा चिन्ता गरेर स्ववियु निर्वाचन हुने र नहुने, गर्ने र नगर्ने भन्ने कुरामा नेविसंघ अल्झिनुपर्ने कुनै कारण नै छैन् नि ।

नेविसंघको स्ववियु चुनावबाट हार निश्चित भएकै हो त ? कि आफू हार्ने डरले तपाईहरुमाथि दोष थोपरेको हो ?

देशभरको स्थिति हेर्दा यसपटक नेविसंघको पक्षमा त्यति राम्रो माहोल नदेखिएपछि नेविसंघ चाँही चुनावबाट भागेको हो । यो चाँही उनीहरुले लुकाइराख्नुपर्नै कुरा छैन् ।

अब त तोकिएको समयमा स्ववियू निर्वाचन नहुने नै भयो । तपाईहरुको मिहिनेत खेर गयो है !

खेर गएको छैन् । हामीसँग समग्र विद्यार्थी आन्दोलनको पक्षमा, विद्यार्थीको हकहितको पक्षमा लड्दै आएको त्यसमा पनि स्ववियुको सन्दर्भमा स्ववियु एउटा क्रान्तिकारी इतिहास बोकेको, आन्दोलनबाट आर्जिएको सम्पति हो । त्यो सम्पति जोगाउनको निम्ति हामी अनवरत रुपमा संघर्ष गर्दै आएका छौं । धैर्यता देखाउँदै आएका छौं ।

अझैं पनि हामी धैर्य छौं । फागुन १४ गते स्ववियु निर्वाचन भएन भने पनि यस वर्षभित्र स्ववियु निर्वाचन गर्नका निम्ति हामी देशको ठुलो र जिम्मेवार संगठन हुनुको हैसियतले विद्यार्थीको चाहना भावना अनुरुप स्ववियु निर्वाचनको वातावरण बनाउन, स्ववियु निर्वाचन गर्नका निम्ति हामी पहल गर्छौं यसमा हाम्रो मिहिनेत खेर गएको छैन् ।

हाम्रो त विद्यार्थीहरुको भावनाप्रति हामी संवेदनशील छौं । जिम्मेवार छौं भन्ने कुरा बोध भएको छ । बरु अन्य विद्यार्थी संगठनहरुले चाँही विद्यार्थीको चाहना, भावनाको नेतृत्व गरेको देखिएन । विद्यार्थीहरुको आवाजको नेतृत्व गरेको देखिएन । दलिय स्वार्थमा रमाएको देखियो । विद्यार्थीको हकहितको पक्षमा उभिन नसक्ने, विद्यार्थीको चाहना र भावनाको नेतृत्व गर्न नसक्ने पनि विद्यार्थी संगठन हुन्छन् र ? भनेर आम विद्यार्थीहरुमा स्वविय निर्वाचन नचाहनेहरुप्रति एउटा धारणा पैदा भएको छ । र हाम्रो मिहिनतले राम्रै भएको छ ।

त्रिविले किन निर्वाचन तालिका सार्वजनिक गर्न आनाकानी गर्दैछ ? कतै चुनाव सार्ने खेल त भएको छैन् ?

होइन, त्रिविलाई पनि आफ्नो जटिलताहरु होला तर, त्रिविले यो वा त्यो बहानामा स्वतन्त्र युनियनको निर्वाचन टार्न पाउँदैन् । त्रिवि स्ववियुको निर्वाचनको सन्र्दभमा यो निर्वाचन आयोग जस्तो हो । निर्वाचन आयोगले आफ्नो काम गर्नुपर्छ । निर्वाचनको वातावरण बनाउनुपर्छ । निर्वाचनको कार्यतालिका बनाउनुपर्छ ।

त्यो काम त्रिविले गर्नुपर्छ र त्यसमा पनि यो स्ववियुको पनि यो एक ढंगको आवधिक निर्वाचन जस्तै हो । प्रत्येक २ वर्षमा हुनेगर्छ । विद्यार्थी संगठनहरु यसका ‘स्टेक होल्डर’ भएको हुनाले यो निश्चित प्रणाली २८ वर्षेलगायतका कुराहरु भएको हुनाले विद्यार्थी संगठनहरु पनि यसमा जिम्मेवार त हुन्छन् तर, त्रिभुवन विश्वविद्यलय स्ववियु निर्वाचनको हकमा निर्वाचन आयोग जस्तै भएको हुनाले निर्वाचन आयोगले के भूमिका निर्वाह गर्नुपर्छ त्यो अनुसार भूमिका निर्वाह चाँहि त्रिविले गर्नुपर्छ । त्रिविले त्यो भूमिका निर्वाह गरेको छैन् भन्ने हाम्रो चाँही आरोप छ ।

अन्त्यमा, तपाईहरुले कस्तो कदम चाल्नुहुन्छ ?

अब हाम्रो कदम २ गतेभित्रमा त्रिभुवन विश्वविद्यालयले संयुक्त विद्यार्थीको बैठक बोलाएर वा पूर्व घोषित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका नगरे स्ववियुको विघटनको लागि स्ववियु लगभग-लगभग विघटन जस्तो हुन्छ । विद्यार्थीहरुको एउटा साझा संस्था विघटनको विरुद्धमा र त्यो संस्था स्थापनाको पक्षमा हामी दबाब मुलक संघर्ष आन्दोलन गर्छौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us