जब कंगनाले आलियालाई करण जोहरको कठपुतली भनिन्…

काठमाण्डु टुडे २०७५ माघ २७ गते १७:३७ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् ।

उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै मिडियासामू राखिदिन्छिन् । यतिबेला पनि उनको यसै किसिमको बयानका कारण बलिउडमा हंगामा मच्चिएको छ ।

कंगनाले उनको एक बयानमा अभिनेत्री आलिया भट्टलाई ‘करण जोहरकी कठपुतली’ भनेकी छिन् । कंंगनाले भनेकी थिइन्, ‘मलाई लाग्छ आलिया भट्टले स्वयमलाई बलियो बनाउनु आवश्यक छ । साथै महत्वपूर्ण फिल्मको समर्थन पनि गर्नु आवश्यक छ । विशेष गरी त्यस्ता फिल्म जो महिला र देशका बारेमा बनेका छन् । यदि उनले आफ्नै आवाजमा केही भन्न सक्दिनन् भने उनी केवल करण जोहरकी कठपुतली मात्रै हुन सक्छिन् र म भन्न सक्छु कि उनी असफल छिन् ।’

कंगनाले अगाडि भनिन्, ‘म आलियालाई भन्न चाहन्छु की उनी सफल अभिनेत्री होइनन् । यदि उनी केवल पैसा कमाउनका लागि मात्रै काम गरिरहेकी छिन् र उनको आफ्नो कुनै आवाज छैन भने मेरा लागि त्यस्तो सफलताको कुनै महत्व छैन ।’

कंगनाको यस किसिमको बयानपश्चात भारतीय मिडियासँग कुरा गर्दै आलियाले भनिन्, ‘म यस विषयमा कंगनासँग व्यक्तिगत रुपमा कुरा गर्न चाहन्छु । म अहिले नै मिडियासमक्ष उनको बयानविरुद्ध जवाफ दिएर यस कुरालाई अझै लम्ब्याउन चाहन्नँ । मैले पहिले पनि भनिसकेँ र अहिले पनि भन्छु की म कंगनाको निकै सम्मान गर्छु । मेरो कुनै गल्तीले उनको मन दुखाएको कुरा मलाई थाहा छैन । मैले उनको मन दुखाउन खोजेकी होइन । मेरो कुनै पनि कुराका कारण कंगना दुःखी भएको म हेर्न चाहन्नँ ।’

यस कुराबाट प्रष्ट हुन्छ की आलिया भट्ट कंगना रनावतसँग कुनै पनि किसिमको विवाद गर्न चाहिरहेकी छैनन् । उनी सकेसम्म कंगनालाई शान्त बनाउने प्रयासमा छिन् । तर आलियो यस कुरालाई कंगनाले कुन रुपमा लिनेछिन् त्यो त भविष्यमै थाहा हुनेछ ।

कंगना रनावत अभिनित फिल्म ‘मणिकर्णिका’ रिलिज भएपश्चात बलिउडकर्मीले कुनै पनि किसिमको प्रतिक्रिया नदिएपछि कंगना भड्किएकी हुन् ।

उनले आफूविरुद्ध बलिउडका कलाकारहरु एकजुट भएर फिल्म उद्योगबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएकी छिन् । तर आफू यस कुराले नडराएको बरु एक–एकको पर्दाफास गर्ने चेतावनी दिएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us