काठमाण्डु, १७ माघ – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको छैटाै विकेट लिएको छ । बसन्त रेग्मीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा युएईका कप्तान मोहम्बद नाबिदलाई स्टम्प आउट गरे ।
यसअघि टी ट्वान्टीमा डेब्यू गरेका अभिनास बोहोराले टोलीका लागि पाँचौ विकेट लिएका थिए । उनले १६.५ ओभरमा युएईका लागि ५९ रन बनाएर खेलिरहेका साइमान अनवारलाई बोल्ड गरेका हुन् ।
यसअघि सन्दीप लामिछानेले मोहम्बद उसमानको विकेट लिएका थिए । उनले १३.५ ओभरमा मोहम्बद उसमानलाई कप्तान पारस खड्काको हातबाट क्याच आउट गराएका हुन् । युएईका सिपी रिज्वान २२ रन बनाएर आउट भएका थिए । उनलाई नेपालका बसन्त रेग्मीले आउट बनाएका थिए ।
यसअघि घुलाम शब्बेर ८ रनमा आउट भए । सोमपाल कामीले विकेट लिए । यसअघि अस्फाक अहमद दुई रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका थिए ।
आईसीसी क्रिकेट एकेडेमीमा यूएईले टस हारेर पहिले ब्याटिङ गरेको हो । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा शतप्रतिशत जित हात पार्ने लक्ष्य बनाएको छ ।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।
यता, यूएई पनि नेपाललाई पराजित गर्दै टी–ट्वान्टी क्रिकेटको सिरिज जित्न चाहन्छ ।