एकदिवसीय क्रिकेट सिरिज जितेपछि कप्तान खड्का दिए यस्तो प्रतिक्रिया

काठमाण्डु टुडे २०७५ माघ १५ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, १५ माघ – कप्तान पारस पारसले यूएईविरुद्धको ऐतिहासिक जितलाई ‘एउटा उज्यालो दिन’ को संज्ञा दिएका छन् ।

यूएईको न्युज पोर्टल ‘द नेशनल‘सँग खड्काले प्रतिक्रिया दिँदै उनले भने, ‘यो हाम्रो उज्यालो दिनहरुमध्ये एक हो । देशका लागि खेल्न पाएको हरेक अवसर भव्य हुन्छ ।’

टी–२० विश्वकप, एकदिवसीय मान्यतापछि पहिलो सिरिज जितेको स्मरण गर्दै उनले भनेका छन्, ‘यी हाम्रा उज्याला दिन हुन् ।’

पारसले गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन टूमा घटुवा हुने संघारबाट नेपाली टिम अगाडि बढेको स्मरण गरे । अबको केही वर्ष एकदिवसीय मान्यता रहने उल्लेख गर्दै उनले भने, ‘हामी यस्तो नजिता अरु पनि चाहन्छौं र क्रिकेटिङ वर्ल्डमा चिनिन चाहन्छौं ।’

यूएईविरुद्ध नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज जिताउने क्रममा कप्तान पारस खड्काले अविस्मरणीय इनिङ खेलेका थिए । उनको १ सय १५ रनको इनिङसँगै नेपालले सिरिज २–१ ले जितेको छ ।

पारसले भनेका छन्, ‘म विजयी रन जोड्न चाहन्थे । म आउट हुँदा हामीलाई अझै ४० रन चाहिएको थियो । धन्य, सोमपाल र आरिफले राम्रो ब्याटिङ गरे । युवा खेलाडीहरुप्रति म खुसी छु ।’

यसअघिका दुई खेलमा आफू छिट्टै आउट हुँदा टिम दबावमा परेको उनले बताए ।

यद्यपि, हिजोको पारसको इनिङ हरेक हिसाबले उत्कृष्ट थियो । उनले एकातर्फ नेपालको इनिङ बुनिरहेका थिए भने अर्कोतर्फ आक्रामक सटहरुको मद्दतले रन रेट पनि खस्किन दिएका थिएनन् । उनको प्रेरणामा अन्य ब्याट्सम्यानहरुले पनि सकारात्मक क्रिकेट खेले ।

पारसको इनिङमा १५ चौका र १ छक्का समावेश थिए । ब्याट मात्र होइन, बलिङमा पनि पारसले राम्रो प्रदर्शन गरे । दुई विकेट लिएका उनले त्यसका लागि ४४ रन मात्र खर्चिएका थिए ।

खड्का एकदिवसीय शतक हान्ने पहिलो नेपाली क्रिकेटर हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us