नेपालले टस जित्यो, यूएईलाई ब्याटिङको निम्तो

काठमाण्डु टुडे २०७५ माघ १४ गते ११:०३ मा प्रकाशित

काठमाण्डु, १४ माघ – नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तेस्रो एकदिवसीय खेलमा टस जितेर बलिङ रोजेको छ । शृंखला १–१ को बराबरीमा रहेको छ ।

नेपालले पहिलो खेलमा ११३ रन मात्रै बनाउन सकेपछि ३ विकेटको पराजय भोगेको थियो । दोस्रो खेलमा नेपालले २४२ रन बनाउँदै १४५ रनको प्रभावशाली विजय हात पारेको थियो ।आज हुने खेल विजय हात पारेमा नेपालले शृंखला २–१ ले आफ्नो पक्षमा पार्ने छ ।

नेपालले सन्दीप जोरालाई डेब्यु गर्ने मौका दिएको छ । पहिलोपटक राष्ट्रिय टोलीमा परेका जोरालाई पवन सर्राफको स्थानमा खेलाइएको छ ।

अलराउन्डर भए पनि पवनले पहिलो दुई खेलमा ब्याटिङ मात्रै गर्न पाएका थिए । पवन अफ स्पिनर पनि हुन् ।

घाँसे विकेट भएका कारण टोलीमै रहेका देब्रेहाते स्पिनर ललितनारायण राजवंशीले पनि बलिङमा कमै मौका पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us