यूएईविरुद्ध नेपालको शानदार जित

काठमाण्डु टुडे २०७५ माघ १२ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, १२ माघ – एकदीवसीय श्रृंखला अन्तर्गत शनिबार भएको दोस्रो खेलमा यूएईविरुद्ध नेपालले शानदार जित हाँसिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४५ रनले पराजित गरेको हो । आईसीसी एकेडेमी दुबई रंगशालामा भएको खेलमा पूरै ५० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो ।

२४३ रनको चुनौती पछ्याउने क्रममा यूएई कमजोर सावित भएको हो । १९.३ ओभरमा ९७ रन बनाउँदा यूएईले सबै विकेट गुमाएको हो । नेपालको जितका लागि सोमपाल कामीले पाँच र सन्दीप लामिछानेले चार विकेट लिए ।

सोमपालले पहिलो ओभरको अन्तिम बल, तेस्रो ओभरको पाँचौं बल, पाँचौ ओभरको अन्तिम बल र छैटौं ओभरको पहिलो बल र १९ ओभरको तेस्रो बलमा विकेट लिएका हुन् । सोमपाल एक्लैले यूएईका सुरुवाती चार र अन्तिममा एक ब्याट्सम्यानलाई आउट गरे । सोमपालले चिराग सुरी, गुलाम सावेर, शाइमन अनवर, अस्फाक अहमद र जाहोर खानको विकेट लिए ।

१४.२ ओभरमा सन्दीप लामिछानेले व्यक्तिगत पहिलो विकेट लिए । यूएईविरुद्धको खेलको १४ ओभरमा सन्दीपले तीन विकेट लिए । १४.२ ओभरमा पहिलो विकेट लिएका सन्दीपले १४.३ र १४.६ ओभरमा विकेट लिए । त्यसैगरी उनले व्यक्तिगत चौथो विकेट भने १८.५ ओभरमा लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us