प्रिन्सको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’

काठमाण्डु टुडे २०७५ माघ ६ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, ६ माघ – चितवनको सौराहा घर भई हाल काठमाण्डु बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उनकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को म्यूजिक भिडियो बजारमा आएको हो । पर्यटकीय क्षेत्र सौराहामा छायाङ्कन गरिएको भिडियोमा मौलिक पोशाकमा सजिएका थारू युवतीको कोरस नृत्य अगाडि प्रिन्सको मोडलिङ छ । उनले किशोरी निशा पाण्डे र जेनी धमलासँग मोडलिङमा रोमान्स गरेका छन् ।

भकारी एमडिसीको प्रस्तुतिमा बनेको म्युजिक भिडियो सार्वजनिक गर्न शनिबार साँझ काठमाण्डुमा आयोजित पत्रकार भेटघाटका क्रममा प्रिन्सले माया केहीसँग पनि नाप्न नसकिने भएकाले जो कोहीसँग पनि माया गाँसिन्छ भन्ने सन्देश गीतमा रहेको भन्दै दर्शकहरुको साथ पाउने आशा गरिएको बताए । उनी गोल्डेन होराइजन एकाडेमी काठमाण्डुमा कक्षा ५ मा पढ्दै छन् ।

निर्देशक सञ्जय पाण्डेले प्रिन्सको प्रस्तुति उत्कृष्ट रहेकाले भविश्य राम्रो रहेको प्रतिक्रिया दिए । यसअघि प्रिन्सले दशैँको अवसरमा उमङ्गले भरिएको गीत ‘दशैँ मनाउने हो, नाच्दै रमाउने हो’ भिडियोसहित बजारमा ल्याएका थिए । यसलाई दशैँमा बालबालिकाले खुब मन पराएका थिए ।

गीतमा वसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गीत रहेको छ । प्रिन्सका बुबा रमेश सिलवालले सानैदेखिको रुचिअनुसार उसलाई कला र गीत–सङ्गीतमा अभ्यास गराउन थालिएको बताए । उक्त म्युजिक भिडियोलाई ‘वेष्ट टोन म्युजिक’ले युट्युवमा ल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us