
काठमाण्डु, २ माघ – सुरक्षित र भरपर्दो यातायात सेवा दिँदै आइरहेको ‘टुटल’ र ‘पठाओ’ सेवा बन्द गर्ने ट्राफिक प्रहरीको निर्णयविरुद्ध सर्वसाधारणदेखि पूर्वप्रधानमन्त्रीसम्मले आपत्ति जनाएका छन् ।
उपत्यकामा सञ्चालित प्रविधिमा आधारित यातायात सेवा दिइरहेको यो नौलो प्रविधिको प्रयोग गर्नेक्रम बढ्दै जाँदा एकाएक ट्राफिक प्रहरीले भने कानुनअनुसार दर्ता नभएको भन्दै बन्द गराइदिएको छ । टुटल र पठाओ सेवाबाट यात्रुलाई सेवा दिइरहेका चारजना मोटरसाइकलधनीलाई कारबाही गर्दै ट्राफिक प्रहरीले उनीहरुको सेवा बन्द गरेको हो ।
यो सेवा बन्द भएपछि सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रविधिको युगमा यस्ता सेवा बन्द गर्न नहुने तर्क अघि सारेका छन् ।
उनले विश्व नै प्रविधिको युगमा रहेको अवस्थामा यात्रुलाई भरपर्दाे सेवा दिँदै आएको टुटल र पठाओ बन्द गर्नु निन्दनिय कार्य भएको टिप्पणी गरे । उनले भने, ‘मैले पनि छोरी मानुषीबाट पहिलो पटक #tootle @bhattasixit वारे सुनेको हुँ ! उनी यसको नियमित प्रयोगकर्ता हुन् ! शुरूमा सबै बाउ झैं छोरीको सुरक्षावारे चिन्तित नहुने कुरै भएन ! पछि बुझ्दा आम नागरिकनिम्ति सुलभ,सुपथ,भरपर्दो सेवा रहेछ ! यातायात सीन्डिकेटको दवावमा सरकार परेको हो भने वेलैमा सोचोस् !’
त्यस्तै टुटल र पठाओको सर्पोटमा राप्रपा अध्यक्ष कमल थापा पनि उभिएका छन् । उनले यस्ता भरपर्दो प्रविधियुक्त सेवा बन्द गराउनु लज्जास्पद भएको बताए ।
उनले सरकारलाई सचेत गराउँदै भने, ‘टुटल र पठावो जस्ता ‘राईड शेयरिंग’ सेवाहरुले काठमाण्डु उपत्यकाको यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै ठूलो संख्यामा आंशिक रोजगारी समेत दिईरहेको हुंदा यसलाई निषेध र नियन्त्रण होईन नियमन र व्यवस्थापन गर्नुपर्छ । सरकारको ध्यान जावस् ।’
याे प्रविधियुक्त सेवाको नागरिकस्तरदेखि पत्रकारसमेतले विरोध जनाउन थालेका छन् । यो सेवा बन्द भएपछि विरोध जनाउँदै पत्रकार कृष्ण ज्ञवाली लेख्छन्, ‘समयानुसार नचल्ने कानून डस्टविनमा पुग्छन् । राजा फाल्ने नेपालीले ‘यातायात एेन’ शिरोधार्य गर्नुपर्ने छैन । ट्याक्सीले जन्ता लुट्दा चुप बस्नेले अआज भने जनता थुन्न थालेछ ।@Valleytraffic ज्यू,कानून परिमार्जनको खेस्रा कार्ने कि बग्गीखानालाई खुला जेल बनाउने, आगे हजुरकै मर्जी !!’
प्रेम सापकोटा लेख्छन्, ‘प्रहरी दाइ ‘Tootle’ र ‘Pathao’ ले यात्री लाइ त सुबिधा भा छ, तर यो कानुन बिपरित छ ! यात्री मैत्री कानुन बनाउ न त यार ! यात्री शास्ती कानुनको प्यार कसलाई लागिरा छ र ! ?’
साथै उत्तम बाबु श्रेष्ठले बाबुराम भट्टराई यस्ता गलत कदमविरुद्ध संसदमा आवाज उठाउन आग्रह गरेका छन् । उनी लेख्छन्, ‘संसारभर नवप्रवर्तनको शुरूमा यस्तै अवरोध हुने गर्छ । कतिपयदेशमा उर्वरको विरोधमा हिंसात्मक प्रदर्शन पनि भए । नेपालमा त्यस्तो हुनु अनौठो होइन । तपाइ नीति र कानुन बनाउने ठाँउ (संसद) को सदस्य हुनुभएकोले यस सम्बन्धी कानुन बनाउन सदनमा आवाज उठाउनु हुन्छ भन्ने आशा गरेको छु ।’
यद्यपी ट्राफिक प्रहरीले भने ट्याक्सी सञ्चालकहरुको दबाबमा बन्द गराएको खुल्न आएको छ । टुटल र पठाओले गर्दा ट्याक्सीहरु मारमा परेको भन्दै ट्राफिक प्रहरीमार्फत बन्द गराएको एक जना ट्राफिक प्रहरीले बताए । उनकाअनुसार टुटल र पठाओका कारण ट्याक्सी सञ्चालकहरु टाट पल्टिने अवस्थामा पुगेको भन्दै बन्दा गराएका हुन् ।
यता टुटल, सह–संस्थापक शिक्षित भट्टले यो सेवा ट्याक्सी भन्दा सुरक्षित भएको दाबी गरेका छन् । साथै उनले सम्पूर्ण प्रयोगकर्ताको विवरण आफूहरुसँग हुने भन्दै कसैमाथि दुव्र्यवहार भएमा कम्प्लेन गर्न सक्ने र तत्काल कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । ट्राफिक प्रहरीको उक्त कदमको विरोध जनाउँदै उनले भने, ‘हामीलाई २०४९ मा बनेको यातायात व्यवस्था ऐनमा टेकेर कारबाही थालिएको छ । यो कदमबारे हामी चुप लागेका बस्दैनौं ।’
के हो टुटल र पठाओ ?
टुटल र पठाओ भनेको निजी मोटरसाइकलमा यात्राको सुविधा दिने मोबाइल एप हुन् । यी एपले सेवा दिने मोटरसाइकल र यात्रुलाई जोड्ने गर्दछ । उपत्यकामा यो सेवा लोकप्रीय बन्दै गएको छ ।