
जनकपुर, ३० पुस – प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवसँग कुटिएका सचिव विद्यानाथ झालाई अस्पताल भर्ना गरिएको छ ।
कुटपिटबाट शरिरमा समस्या देखिएपछि सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् । मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाको भनाई छ ।
शरीर कमजोर जस्तो भएकाले रातिदेखि स्लाइन जारी रहेको र हातको एक्सरे गरिएको सचिव झाले बताए । मन्त्रीबाट शरीरको विभिन्न भागमा लात र हातले प्रहार भएकाले शरीरको विभिन्न भागमा पछि समस्या देखिएको सचिव झाको दुखेसो छ ।
आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।