एजेन्सी । इएफएल कप फुटबल अन्तर्गत दोस्रो सेमिफाईनलको पहिलो लेगमा बुर्टोन एल्बियनविरुद्ध म्यानचेष्टर सिटीले फराकिलो जित हात पारेको छ ।
घरेलु मैदानमा गएराती भएको खेलमा ९–० को जित निकाल्दै म्यान सिटीले फाईनल प्रवेशको संभावना बलियो बनाएको हो । सिटीको जितमा ग्राबियल जिससले ४ तथा केभीन डि ब्रुयेन, फिल फोडेन, केल वाल्कर, ओलेजान्द्रा जिन्चेन्को र रियाद महारेजले एक–एक गोल गरे ।
एकपक्षीय खेलको पहिलो हाफमा ४–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा ५ गोल थप्दै सहज जित हात पारेको हो । खेलको ३० औँ मिनेटमा पहिलो गोल गरेका जिससले ३४ र ५७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।
६५ औँ मिनेटमा अर्को गोल गर्दै उनले व्यक्तिगत गोल संख्या ४ पुर्याएका हुन् । दोस्रो लेग बुर्टोनको घरेलु मैदानमा सोमबार हुनेछ ।