एजेन्सी । जोए विलकले दुई गोल गरेपछि शनिबार राति ब्ल्याकपुलमा ३–० को जित निकाल्दै १३ पटकको कीर्तिमानी च्याम्पियन आर्सनलले एफए कपको चौथो चरणमा स्थान सुरक्षित गरेको छ ।
आरोन रामसेको फ्रि–किक पोष्टमा लागेर फर्किँदा प्राप्त बललाई गोलमा परिणत गर्दै आर्सनललाई ११औं मिनेटमा अग्रता दिलाएका १९ वर्षे स्ट्राइकर विलकले मध्यान्तर हुन आठ मिनेट बाँकी रहँदा सहज ट्यापमार्फत दोस्रो गोल गरे ।
लिग वानको टोली ब्ल्याकपुल घरेलु ब्लुमफिल्ड रोड मैदानमा आर्सनलको तिब्र गतिसामू निरिह हुँदा एलेक्स इवोबीले ८२औं मिनेटमा भ्रमणकारी टोलीका लागि तेस्रो गोल गरे ।
आर्सनलले शनिबारको खेलका लागि आफ्नो नियमित पहिलो रोजाईबाट ६ खेलाडी परिवर्तन गर्नाका बावजुद कुनै पनि समय दबाब झेल्नु परेन । २०१० मा आरोन रामसेपछि एफए कपको एकै खेलमा आर्सनलका लागि दुई गोल गर्ने पहिलो किशोरका रुपमा विलकले नाम लेखाए ।
आर्सनलका अर्का किशोर स्ट्राइकर इडी एनकेइथले पहिलो हाफमै ह्याट्रिक गर्ने राम्रा अवसर पाएका थिए । तर तीनै पटक उनका प्रभावकारी प्रयास सफल भएनन् ।