काठमाण्डु, १८ पुस – दाबुटी शेर्पा ‘मिस शेर्पा’ सन् २०१८ बन्न सफल भएकी छिन् ।
दिपास इन्टरनेशनलको आयोजनामा राजधानीमा भएको ‘मिस शेर्पा’को पाँचौ संस्करणमा ८ प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘मिस शेर्पा’ बनेकी हुन् । सन् २०१७ मा सगरमाथाको सफल आरोहण गरेकी दाबुटीले ‘मिस बेस्ट ट्यालेन्ट’को विधागत अवार्ड पनि जितिन् ।
दाबुटीलाई ‘मिस शेर्पा २०१७’ की विजेता सोनाम डोल्मा शेर्पाले ताज पहिराइदिएकी थिइन् । उपाधिसँगै दाबुटीले ३० हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पाइन् । उनले ‘मिस इन्टरनेशनल टुरिजम’मा सहभागिताको अवसर पनि पाएकी छन् ।
प्रतियोगितामा ‘मिस शेर्पा’तर्फ दावा याङ्जी शेर्पा ‘फस्ट रनर अप’ बन्दै ‘मिस फोटोजेनिक’को अवार्ड पनि जितिन् । उनले २० हजार २ सय २२ रुपैंयाँ पुरस्कार पाइन् । त्यसैगरी निमा ल्हामु शेर्पा ‘सेकेन्ड रनर अप’ हुँदै १० हजार १ सय ११ रुपैंयाँ पुरस्कार पोल्टामा पारिन् ।
त्यसैगरी ‘मिस्टर शेर्पा’को उपाधि सोनम जाङ्बु शेर्पाले हात पारे । ९ प्रतियोगीलाई पछि पार्दै उनले उपाधिसहित ३० हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार जिते। प्रतियोगितामा पेम्बा शेर्पा ‘फस्ट रनर अप’ र पासाङ शेर्पा ‘सेकेन्ड रनर अप’ भए। पेम्बाले २० हजार २ सय २२ र पासाङले १० हजार १ सय ११ नगद पुरस्कार पाए ।