
इलाम, १६ पुस–खोल्सीको सुनको नामले परिचित अलैँचीको मूल्य प्रतिमन एक लाख बढी पाएपछि अलैँचीको बिरुवाको माग बढ्न थालेको छ ।
बिरुवा नर्सरी व्यवस्थापनमा सक्रिय इलाम जिर्मलेका किसानले बिजु बिरुवा उत्पादन गर्न होडबाजी गरेका छन् । जिर्मलेको तल्लो भू–भागमा समेत हुने स्थानीय जिर्मले प्रजातिका अलैँची बिरुवा बिक्रीका लागि जिर्मले सलकपुरमा घरघरमै नर्सरी स्थापना भएको छ ।
यहाँ उत्पादित अलैँचीका बिरुवा देशभर निकासी भइरहेको किसानले बताएका छन् ।
पूर्वी पहाडमा ढुसीजन्य कारणले अलैँची मासिने अवस्थामा पुगेपछि उत्पादन कम भएको र मूल्य आकाशिएको किसानको भनाइ छ । बेँसी क्षेत्र र कछाडमा समेत उत्पादन हुने जिर्मले जातको अलैँची यो वर्ष मात्र एक सय ५० मन फलाएर बिक्री गरेको स्थानीय किसान रोमस अधिकारीको भनाइ छ ।
यता अलैँचीको बिरुवामा सरकारले तोकेको रकम कम भएकाले बिक्रीमा समस्या भएको किसानको गुनासो छ ।
बजार र मागअनुसार प्रतिबिरुवा पाँचदेखि १२ रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनीहरूको भनाइ छ । अलैँची मूल्यसँगै विस्तार अभियानले अलैँचीका निरोगी बिरुवाको माग बढेको हो । यो क्षेत्रमा दुई सय घर परिवार अलँैचीखेतीमा सक्रिय भएर लागेका छन्