
काठमाण्डु, १६ पुस–कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रलाई माथि उठाउँदै कृषकलाई प्रोत्साहन गर्न दूधको मूल्य वृद्धि गर्नुपरेको बताएका छन् ।
कृषि तथा जलस्रोतसम्बन्धी संसदीय समितिको बैठकमा कृषकको मेहनतको उचित मूल्य दिलाउनका लागि भारतसँग सुहाउँदो हुने गरी दूधको मूल्य वृद्धि गरिएको उनले स्पष्ट पारे ।
दूधको अभावलाई अन्त्य गर्नका लागि भारतबाट महँगो मूल्यमा दूध झिकाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘केही वर्षयता दूधको उत्पादनमा वृद्धि भए पनि मागलाई धान्न सकेको छैन, उत्पादनमा वृद्धि गराउनका लागि किसानको मनोबल उठाउन आवश्यक छ ।’
दुग्ध विकास संस्थानले दूधको मूल्यमा बुधबारदेखि लागू हुनेगरी आठ देखि १० वृद्धि गरेको थियो । बढाइएको मूल्यमा ७१ प्रतिशत कृषकको र २९ प्रतिशत व्यापारीको मूल्यमा वृद्धि हुने प्रावधान रहेको छ ।
उनले भारतमा कृषकले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५५ प्रतिशत अनुदान पाइरहेको अवस्थामा नेपाली कृषकले त्यस्तो सुविधा नपाएकोले मूल्य वृद्धिले कृषकलाई प्रोत्साहन गर्ने धारणा राखे । रासस