
सिन्धुपाल्चोक, १५ पुस–सिन्धुपाल्चोक जिल्लामा उत्पादित अर्गानिक कफीको उत्पादन अघिल्लो वर्षको तुलनामा बढ्ने भएको छ ।
जिल्ला कृषि विकास कार्यालयकाअनुसार यो वर्ष धेरै ठाउँमा किसानले कफी उत्पादन गरेकाले उत्पादन बढ्ने भएको जनाइएको छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष २५ टन ड्राइ पार्चमेन्ट कफी र चार हजार किलो चेरी कफी उत्पादन भएको थियो । यो वर्ष त्यसको तुलनामा १५ प्रतिशतभन्दा बढीले कफी उत्पादन बढ्ने अनुमान गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाका ३२ गाविसमा व्यावसायिक रुपमा कफीखेती गरिँदै आएको छ । जिल्ला कफी सहकारी सङ्घको अगुवाइमा ६४ कृषक समूहमा ५ सय २५ घरधुरीले व्यावसायिक कफीखेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नवराज थापाले जानकारी दिए ।
यहाँ उत्पादित कफी जापान, जर्मनी, कोरियालगायत युरोपका विभिन्न देशमा निर्यात हुने भएकाले पनि किसान कफीखेती गर्न हौसिएका छन् ।
‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा जिल्लाको एक गाविसलाई कफीको पकेट क्षेत्र बनाउने तयारी गरिएकाले पनि कफी उत्पादन बढ्ने जनाइएको छ ।
यसअघि मन्त्रिपरिषद्को बैठकले जिल्लामा उत्पादन भएको कफीमा उच्च गुणस्तर भएको निष्कर्ष निकाल्दै पकेट क्षेत्रका रुपमा विकास गरिने निर्णय गरेको थियो । रासस