
भीमदत्तनगर, १५ पुस–सुदूरपश्चिमको प्रमुख भन्सार नाका गड्डाचौकीमा पछिल्लो समय राजस्व सङ्कलनमा सुधार आएको छ ।
दुई वर्षअघिसम्म गड्डाचौकी भन्सार कार्यालयको वार्षिक राजस्व सङ्कलन गर्ने लक्ष्यभन्दा अहिले दोब्बर राजस्व सङ्कलन भइरहेको छ ।
आर्थिक वर्ष २०६९/०७० मा चार करोड ९८ लाख वार्षिक लक्ष्य रहेको थियो भने गत आर्थिक वर्ष नौ करोड १० लाख राजस्व सङ्कलन भएको गड्डाचौकी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
‘चुहावट नियन्त्रणका साथै भन्सार सहजीकरणले राजस्व वृद्धि हुँदै गएको छ ।’ उनले भने, ‘अझै थप सुधार गरी राजस्व लक्ष्य बढाउने अभियानमा लागेका छौँ ।’
चालु आर्थिक वर्षमा भन्सार कार्यालयले १० करोड ३२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको बताउदै भन्सार अधिकृत रेग्मीले भने ‘वार्षिक लक्ष्यको छ कराेड बढी सङ्कलन भइसकेको छ, यो आर्थिक वर्षमा १४/१५ करोडसम्म राजस्व सङ्कलन हुने अनुमान गरेका छाैँ ।’ रासस