
इलाम, १४ पुस–सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले जिल्लामा विभिन्न स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य कार्यालय निर्माण सुरु गरेको छ ।
करिब २० करोडभन्दा बढीको लागतमा स्वास्थ्य भवन निर्माण सुरु गरेको हो । डिभिजनले सोयाङस्थित स्वास्थ्य चौकीका लागि एक करोड ७१ लाख ८० हजार पाँच सय ६२, इभाङ स्वास्थ्य चौकीका लागि एक करोड ६२ लाख ७९ हजार तीन सय आठ, जिल्ला स्वास्थ्य कार्यालयको भवन निर्माणका लागि दुई करोड २४ लाख ६९ हजार आठ सय ५४ विनियोजन गरिएको छ । ९२ लाखको लागतमा क्वाटर र जमुनामा आयुर्वेद औषधालय निर्माणका लागि एक करोड २२ हजार दुई सय ८५ बजेट विनियोजन भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रतर्फ पशुपतिनगरमा चार करोड नौ लाख ६६ हजार तीन सय ६६, प्याङमा दुई करोड ३३ लाख चार हजार नौँ सय ९५, मङ्गलबारेमा तीन करोड २३ लाख ६८ हजार ५ सय ११ र जिर्मले स्वास्थ्य चौकीका लागि एक करोड ५१ लाख ८२ हजार तीन सय १८ बजेट विनियोजन भएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका खरिदार कमलनिधि चापागाईंले जानकारी दिए ।
प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा प्रसूति कक्ष, बहिरङ्ग विभाग, उपचार कक्ष र हल रहने छन् । चालु आवमा निर्माण सुरु भएका भवन एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ । रासस