
इलाम, १४ पुस–पूर्वी इलामका युवा बङ्गुरपालन व्यवसायबाट मनग्य आर्थिक लाभ लिन सफल भएका छन् ।
सूर्योदय नगरपालिका ५ केराबारीका किसान टेकबहादुर राईले साङ्पाङ बङ्गुुर फार्म सुरु गरेको पाँच वर्षमात्र भएको छ । उनले हालसम्मको अवधिमा करिब एक करोड २० लाख आर्जन गरिसकेका छन् । उन्नत जातको बङ्गुुरपालन गरेर पाठापाठी बेच्ने लक्ष्यसहित सुरु गरिएको बङ्गुुर फार्मबाट हाल वार्षिक ४० लाखसम्म आम्दानी लिने गरेको उनले बताए ।
हेमसार, योगसार, ड्युरोक जातका उन्नत बेलायती बङ्गुुरपालन गर्दा प्रशस्त आम्दानी लिन सकिने किसानको अनुभव छ । टेकबहादुरले पछिल्लो समय वैदेशिक रोजगारीमा जान लागेका युवालाई सकेसम्म विदेश नगई नेपालमै कुनै व्यवसाय गरेर जीवन चलाउन सहज हुने सल्लाहसमेत दिने गरेका छन् । रासस