
काठमाण्डु, ११ पुस–राष्ट्रपति डा रामवरण यादवसँग प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल प्रतियोगितामा रजत पदक विजेता राष्ट्रिय महिला भलिबल टोलीले शुक्रबार भेट गरेको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त भेटमा राष्ट्रपति यादवले टोलीलाई बधाई ज्ञापन गर्दै भलिबल ७५ वटै जिल्लामा खेल्न सकिने हुँदा यस खेलको विकासका लागि सरकारलाई निर्देशन दिने बताएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्र चन्दले जानकारी दिए ।
त्यस्तै नेपाली भलिबल टोलीकी कप्तान बिनिता बुढाथोकीले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभवबिना पनि यस किसिमको सफलता हासिल गर्नु निकै महत्वपूर्ण भएको बताउँदै भलिबल खेलको विकास र विस्तारका लागि सम्बन्धित निकायले समयमा नै ध्यान दिनुपर्ने बताए ।
यही पुस ४ देखि ८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सो प्रतियोगितामा नेपालले रजत पदक जितेको थियो । नेपालले आठ वर्षपछि रजत पदक जित्दै भलिबल खेलमा ऐतिहासिक सफलता हासिल गरेको थियो ।
यसअघि सन् २००६ मा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कास्यपदक जितेको थियो । नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र मादिभ्सले भाग लिएको सो प्रतियोगितामा भारतले स्वर्णपदक हात पारेको थियो भने श्रीलङ्काले कास्य पदक जितेको थियो । रासस