
प्युठान, ११ पुस–‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गर्न लागिएको उन्नत बीउबिजन कार्यक्रमका लागि प्युठानका पाँच सहकारी संस्थाले अनुदान पाउने भएका छन् ।
जिल्लाका किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत ४८ लाखभन्दा धेरै रुपैयाँ अनुदान दिइने भएको हो ।
नेपाल सरकार कृषि विकास मन्त्रालयको सहकार्य तथा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको सहयोगमा उन्नत बीउबिजन उत्पादन गर्न सहकारीलाई छनोट गरी अनुदान दिइने कृषि उद्यम केन्द्रका कृषि विकास व्यवसाय सल्लाहकार शोभा महर्जनले जानकारी दिइन् ।
जिल्लामा धान, मकै, आलु र गहुँको उन्नत बीउ उत्पादन गर्नका लागि सहकारी छनोट गरिएको छ । जनता सहकारी संस्था लिमिटेड बिजुवारले जिल्लामा सबैभन्दा धेरै रकम अनुदान पाउने भएको छ ।
यस सहकारीले १० लाख ५० हजार र अन्य चार सहकारी संस्थाले सात लाख ५० हजारका दरले अनुदान पाउने महर्जनले बताए ।
जिल्लाभरमा कुल ४८ लाख अनुदान स्वीकृत भएको छ । बीउबिजन कार्यक्रम सञ्चालनका लागि सहकारीले ५० प्रतिशत रकम अनुदान पाउने र थप ५० प्रतिशत रकम सम्बन्धित सहकारीले व्यहोर्नु पर्ने गरी अनुदान दिन लागिएको हो ।
अहिले जिल्लामा प्रस्ताव स्वीकृतसँगै कार्यक्रमअन्तर्गतका क्षेत्रको स्थलगत सर्वेक्षण कार्य सम्पन्न भएको उन्नत बीउबिजन जिल्ला समन्वय समितिले जनाएको छ ।
जिल्लामा बीउबिजनका लागि १३ वटा प्रस्तावपत्र पेस भएकामा पाँच सहकारी छनोटमा परेका छन् । अनुदान प्राप्त गर्ने सहकारीमा जनता सहकारी संस्था बिजुवार, हातेमालो सक्रिय महिला कृषि सहकारी संस्था रस्पुरकोट, वागेश्वरी महिला कृषि सहकारी संस्था मरन्ठाना, ऐरावती बहु उद्देश्यीय सहकारी संस्था ढुङ्गेगढी र धर्मावती महिला बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
जिल्लालाई ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तर्गत बीउबिजनका लागि केन्द्रले नै विशेष मूल क्षेत्र घोषणा गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष माधवराज भण्डारीले बताए । रासस