स्याङ्जामा धान उत्पादनमा चार प्रतिशतले वृद्धि

काठमाण्डु टुडे २०७१ पुष ११ गते १०:५८ मा प्रकाशित

स्याङ्जा, ११ पुस–स्याङ्जामा यस वर्ष धान उत्पादनमा चार प्रतिशतले वृद्धि भएको छ ।

Dhan

जिल्लामा यस वर्ष ६० हजार एक सय २६ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय स्याङ्जाका कृषि प्रचार अधिकृत दीनानाथ रेग्मीले बताए ।

गत वर्ष जिल्लामा ५८ हजार आठ सय १४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्लामा प्रतिहेक्टर ३.५८ प्रतिशत धानको उत्पादकत्व रहेको र यस वर्ष दुई हजार तीन सय १२ मेट्रिक टन धान बढी उत्पादन भएको देखिन्छ ।

ढिलो गरी वर्षा सुरु भएकाले सोचेअनुसारको उत्पादनमा वृद्धि हुन नसकेको उनले जानकारी दिए ।

जिल्लामा १६ हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।

जिल्लाका तीन नगरपालिका र ५७ गाविसमध्ये  तीनवटै नगरपालिका र रत्नपुर, कुवाकोट, पकुवादी, तुल्सीभञ्ज्याङ, जगत्रदेवी, स्वारेक, दहथुम, खिलिङ, थुमपोखरी, चिल्नेवास, सेखाम, सौरवट, बिरुवा, सेती दोभान र श्रीकृष्ण गण्डकी गाविस धान उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।

खाद्यान्नमा स्याङ्जा जिल्ला आत्मनिर्भर भए पनि यहाँका कृषकले उत्पादन गरेको मकै, गहुँ, कोदो, जस्ता खाद्यान्न गाईवस्तु तथा पशुपंक्षीलाई दानाका रुपमा प्रयोग  गर्ने गरेकाले खाद्यान्न अपुग भएपछि चामल खरिद गरेर छाक टार्ने गरेको पाइन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us