खुलामञ्चबाट विप्लवले भने– ‘युद्धको जवाफ हामी युद्धबाटै दिन्छौं’

काठमाण्डु टुडे २०७१ पुष ११ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, ११ पुस– नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीविरुद्ध देशभरि युद्ध छेडिएको भन्दै आफूहरुले पनि त्यसको जवाफ दिने चेतावनी दिएका छन् ।

4राजधानीमा १२२ औं माओ दिवसका अवसरमा गरिएको आमसभामा बोल्दै नेता चन्दले माओवादीलाई निशस्त्र बनाएर अपराधी ठहर्याउने षड्यन्त्र गरिएको समेत दाबी गरे ।

‘नेपालमा अहिले प्रतिक्रान्ति भएको छ, नेपाली जनताका अधिकारहरु खोसिएका छन् । नेपालको स्वाधीनतामाथि हस्तक्षेप भएको छ,’ विप्लवले भने, ‘हाम्रा अस्त्रशस्त्र खोसिन्छ भने हामी के गर्छौं ? युद्धको जवाफ हामी पनि युद्धबाटै दिन्छौं ।’

उनले आफूहरु शान्ति र संविधानकै पक्षमा काठमाण्डु आएको तर काठमाण्डु आएपछि पार्टीले बाटो बिराएको भन्दै अझै पनि सहकार्य आवश्यक भएको बताए ।

उनले दश हजार सहिदहरुको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएकाले सहिद परिवारले गरेको प्रश्नको जवाफ उहाँहरुले दिन नसकेपछि आफूहरुले नयाँ पार्टी बनाएको दाबी गरे ।
‘दश हजार सहिदको नेता प्रचण्ड हो । किरण हो । यस्तो बेला हामीले के गर्ने हो ? हाम्रा जनता र कार्यकर्ता र सहिद परिवारले जवाफ पाएनन्,’ उनले भने, ‘अब हामी जवाफ दिन्छौं ।’
उनले माओवादी काठमाण्डुमा करोडपति वा अरबपति बन्न नआएको भनाइ व्यक्त गरे ।
विप्लवले वर्तमान संविधान सभा विघटन गरिनुपर्ने र राष्ट्रिय राजनीतिक सभा आयोजना गरिनुपर्ने माग समेत गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै केन्द्रीय सदस्य धर्मेन्द्र बाँस्तोलाले हतियारबद्ध आन्दोलन गर्ने चेतावनी दिए । ‘हजारौंको सहादत, हजारौंको बेपत्ता र हजारौंको अंगभंग भएको इतिहास नबिर्सनुस्, हामी यो आन्दोलनलाई यसै छाड्ने छैनौं,’ उनले भने । कार्यक्रममा सामना परिवारका कलाकारहरुले क्रान्तिकारी गीत र नृत्य पनि प्रस्तुत गरेका थिए ।

देशभरिका झण्डै एक दर्जन एफएम रेडियो र काठमाण्डुका केही टेलिभिजनले सभाको प्रत्यक्ष प्रसारण गरिरहेका छन् । १२२ औं माओ दिवसको अवसर पारेर नवगठित माओवादीले राजधानीमा पहिलो पटक सभा आयोजना गरेको हो । अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष शरद रसाइलीले माओवादी आन्दोलनलाई एमालेसँग पुनः मिल्न गएको नेकपा मालेजस्तो नठान्न चुनौती दिए ।

‘नेकपा एमालेसँग मिलेको माले जस्तो होइन नेपालको माओवादी आन्दोलन, कसैले माओवादी आन्दोलन मोहनविक्रम सिंहको जस्तो हुन्छ भनेर सोचेको थियो भने त्यो आज गलत सावित भएको छ,’ रसाइलीले भने ।

त्यस्तै महिला नेतृ उमा भुजेलले महिलाहरुको मुक्तिका लागि पुनः वर्गीय मुक्तिको लडाइमा जानुपर्ने बताइन् । मजदुर नेता दीपेन्द्र कुमाल, दलित नेता तिलक परियार, जनजाति समुदायका नेता पदम राई र बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष एकराज भण्डारी ले पनि सशस्त्र संघर्षमा जाने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us