
सुर्खेत, १० पुस–क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, कोहलपुरले एक वर्षमा दुई करोड ५० लाख राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेका एक लाख ३९ हजार नौँ सय ३० सवारी साधनलाई कारबाही गर्दा दुई करोड ४३ लाख ९४ हजार पाँच सय ५० राजस्व सङ्कलन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले बताएको छ ।
ट्राफिक प्रहरीले यो अवधिमा सबैभन्दा धेरै राजस्व दाङबाट उठाएको छ । आर्थिक वर्ष २०७०÷७१ मा दुर्घटना बढी हुनेमा पनि दाङ पहिलो नम्बरमा थियो । दाङबाट ७० लाख ६२ हजार छ सय राजस्व सङ्कलन भएको छ । दाङका ४४ हजार चार सय ३२ सवारी साधनलाई कारबाही गरिएको छ ।
दाङपछि बाँकेबाट बढी राजस्व सङ्कलन भएको छ । बाँकेबाट ६८ लाख ४२ हजार दुई सय राजस्व सङ्कलन भएको छ । यहाँ ३७ हजार ४४ वटा सवारी साधनलाई कारबाही गरिएको थियो । सुर्खेतमा २० हजार नौँ वटा सवारी साधनलाई कारबाही गर्दा ३४ लाख ९१ हजार छ सय र बर्दियामा १५ हजार पाँच ३४ सवारी साधनलाई कारबाही गरेर२४ लाख २९ हजार राजस्व सङ्कलन गरिएको छ ।
धेरै राजस्व सङ्कलन भएको पाँचाँै जिल्लामा प्युठान परेको छ । प्युठानमा एक वर्षमा पाँच हजार नौँ सय सवारी साधनलाई कारबाही गर्दा १३ लाख ४५ हजार तिन सय राजस्व सङ्कलन गरिएको छ । सल्यानमा चार हजार छ सय ५१ सवारी साधनलाई कारबाही गरेर आठ लाख ४२ हजार राजस्व उठाइएको छ ।
राजस्व सङ्कलनको तथ्याङ्कलाई हेर्दा ट्राफिक प्रहरीको सक्रियता आर्थिक वर्षको अन्त्यमा बढी हुने गरेको देखिन्छ । चैत, वैशाख, जेठ र असारमा बढी सवारी साधनलाई कारबाही गरिएको छ ।
चाडबाडमा चाप हुने भएकाले नियमित उल्लङ्घन बढी हुन्छ भनिए पनि ट्राफिकको कारबाहीको तथ्याङ्कलाई हेर्दा त्यस्तो देखिँदैन । चाडबाडका बेलामा ट्राफिकको अनियमिता हुन्छ भन्नेहरूलाई यसले बल पु¥याउँछ । आर्थिक वर्षको अन्त्यमा भने राजस्व असुली तिब्र हुने गरेको तथ्याङ्कले देखाएको छ । रासस